प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका दुई विद्यार्थी कार्यकर्तासँगै तीनजना गिरफ्तार

  ०७६ भदौ ३ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट दुईजना विद्यार्थी र एकजना व्यापारीलाई प्रहरीले भदौ २ गते बेलुकी श्रीनगर बजारबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठन जिल्ला सदस्यद्वय बागचौर नपा-५ निवासी १९ वर्षीय महेश कुमार विक र शारदा नपा-१३ स्यानीखाल निवासी १८ वर्षीय सुरेश भारती रहेका छन् ।

यस्तै सो पार्टीको ब्यानर तथा झण्डा तयार गरिदिएको आरोपमा त्रिवेणी गाउँपालिका-४ घर भई हाल शारदा नपा-१ श्रीनगरमा केसी डिजिटल आर्ट्स सञ्चालक २५ वर्षीय हरि केसीलाइ पनि प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी विरेन्द्रबहादुर शाहीले यदि कसैले थाहा हुँदाहुँदै पनि अपराधिक क्रियाकलापमा आवश्यक सामग्री निर्माण गर्छ भने त्यो पनि अनुसन्धानको दायरामा आउने भएकाले व्यापारीलाई पनि गिरफ्तार गरिएको जानकारी दिए ।

गिरफ्तार गरिएका तीनैजनालाई हाल हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।


मिना बुढाथोकी