प्रतिबन्धित नेकपा निकट पत्रकार गिरफ्तार

  ०७६ मङ्सिर १८ गते

अछाम बान्नीगढी जयगढ गाउँपालिका–५ घर भएका र हाल पोखरा महानगरपालिका–१ बगर बस्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध जनपत्रकार सङ्गठनका सदस्य २२ वर्षीय राजन साउदलाई प्रहरीले मङ्सिर १७ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

‘केही विषयहरू छन् उहाँले होइन भन्ने पुष्टि गर्न सक्नुभयो भने परिवारको जिम्मा लगाउँछौं अन्यथा म्याद थप गरी अनुसन्धान अगाडि बढाउँछौँ ।’–डिएसपी केसीले भन्नुभयो ।

जनपत्रकार सङ्गठन कास्की जिल्ला संयोजक रमेश बास्तोलाले आफ्नो सङ्गठनका सदस्य समेत रहेका साउदको गिरफ्तारीप्रति खेद प्रकट गर्दै रिहाइको माग गर्नुभएको छ  ।

उहाँले स्वतन्त्रता विरोधि सबैखाले हर्कत रोक्न र संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति र आस्था एवम् विचारको स्वतन्त्रतालाई सम्मान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।


सुशन घिमिरे