प्रतिबन्धित नेकपासम्बद्ध नौ जना विद्यार्थी गिरफ्तार

  ०७६ भदौ २२ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध नौ जना विद्यार्थीलाई भदौ २१ गते प्रहरीले गिरफ्तार गरेको छ ।

 

बैतडी र दार्चुलाको सिमा चमेलीया नदिमाथिको गोकुलेश्वर पुलबाट गोकुलेश्वर प्रहरी चौकी, बैतडीका इञ्चार्ज दिलिपसिंह धामी नेतृत्वको टोलीले उनीहरूलाई गिरफ्तार गरेको हो ।

 

तपोवन माध्यमिक विद्यालय पड्पडा दार्चुलामा कक्षा ९ मा अध्ययनरथ १३ वर्षीय झलक ठगुन्ना, सोही कक्षामा पढ्ने १३ वर्षीय ललित धामी, कक्षा १० मा अध्ययनरथ १४ वर्षीया लक्ष्मी धामी, १४ वर्षीया स्लोचना धामी, १५ वर्षीय योगेन्द्र टमाटा, १५ वर्षीय धनसिंह धामी, १५ वर्षीय प्रदीपसिंह ठगुन्ना, १५ वर्षीय झलक ठगुन्ना र १५ वर्षीय नरेश ठगुन्नालाई प्रहरीले गिरफ्तार गरेको हो  ।

 

प्रहरीले कक्षा १२ मा अध्ययनरत १८ वर्षीय तलित धामी र १९ वर्षीय खगराज नेपालीलाई पनि गिरफ्तार गरेको छ । यी सबै दार्चुला जिल्लाको मर्मा गाउँपालिका–४ लटीनाथका स्थानीय हुन् ।

 

२१ गते राति उनीहरूलाई गोकुलेश्वरबाट जिल्ला प्रहरी कार्यालय, बैतडी ल्याइएको थियो । गिरफ्तारीमा परेका विद्यार्थीहरूको अवस्थाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि नरी बडुले जिल्ला प्रहरी कार्यालयमा गएर जानकारी लिएका छन् ।

 

जिल्ला प्रहरी कार्याल बैतडीका इन्स्पेक्टर किसन चन्दले विद्यार्थीहरूलाई गिरफ्तार गरेको नभई सोधपुछका लागि ल्याइएको बताएका छन् ।

 

‘लहैलहैमा लागेर प्रतिबन्धित पार्टीसँग आवद्ध भएका विद्यार्थीलाई सोधपुछका लागि ल्याएका हौँ । अविभावक बोलाएर उनीहरूलाई जिम्मा लगाउने काम भइरहेको छ ।’–चन्दले भने–‘आजै उनीहरूलाई परिवारको जिम्मा लगाउँछौँ । दुई जनालाई भने हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।”

 

खगराज नेपाली र धनसिंह धामीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

 

विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिव रामसिंह कुँवरले उनीहरू पार्टीसँग नजिक भएकै आधारमा प्रहरीले गिरफ्तार गरेको आरोप लागएका छन् ।

 

विद्यालयमा नियमित पढिरहेका विद्यार्थीहरूलाई पार्टीसँग आस्था राखेकै कारण गिरफ्तार गरेको उनको आरोप छ ।

 

सचिव कुँवरले पार्टीको कार्यक्रम हेर्न आएका बालबालिकाहरूलाई प्रहरीले गिरफ्तार गरेको आरोप लगाएका छन् ।

 

उनले भने–‘पार्टीको नीति र धारणाका बारेमा बताएको मात्रै हो । उनीहरूलाई सङ्गठित गरेका छैनौँ ।’


नरी बडु