प्रतिबन्धित नेकपाद्वारा नगरपालिका र सहकारीमा बम विष्फोट

  ०७६ भदौ २३ गते

गौरादह नगरपालिका कार्यालय र साहरा नेपाल सहकारी संस्थामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले भदौ २२ गते बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

भदौ २२ गते बिहान भएको बम विष्फोटबाट गौरादह नगरपालिकाका प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

विष्फोटपछि घटनास्थलमा केही शङ्कास्पद वस्तु देखिएकाले डिस्पोजका लागि चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट डिस्पोज टोलीलाई बोलाइएको डिएसपी श्रेष्ठले बताए । सो क्षेत्रमा प्रहरीले सुरक्षा तैनाथी बढाएको छ ।

त्यसैगरी भदौ २२ गते बिहान अज्ञात पक्षले विर्तामोड नपा-२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको केन्द्रीय कार्यालयको नवनिर्मित भवनमा बम विष्फोट गराएको झापा प्रहरीले जनाएको छ ।

बम विष्फोटबाट सहकारीको मूल गेट, सुरक्षा गार्ड बस्ने कोठा र भवनमा प्रयोग भएको सिसामा क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले बताए ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । उनीहरूको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।

झापा जिल्ला सेक्रेटरी मनिषले पत्रकारहरूलाई फोन गरेर बम विष्फोटको जिम्मेवारी लिएका छन् ।

जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधि, कर्मचारी र सहकारीका व्यक्तिलाई जनताकै माग अनुसार कारबाही स्वरूप बम विष्फोट गराएका उनले बताए ।


नरेश खाती