प्रतिबन्धित नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज गिरफ्तार

  ०७७ फागुन १७ गते

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महोत्तरी–सर्लाही इन्चार्ज ४५ वर्षीय कमलबहादुर शुसलिङ्गलाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ ।

सर्लाहीमा चन्दा आतङ्क मच्चाएको आरोपमा इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले गौशाला नपा–११ तारेचौरीमा लुकेर बसेको अवस्थामा साँझ गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरीले शुसलिङ्गलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको जनाएको छ ।

शुसलिङ्गले महोत्तरीमा बसेर सर्लाहीमा चन्दा आतङ्क मच्चाएको प्रहरीको आरोप छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टिकाबहादुर केसीले व्यापारी र कर्मचारीलाई धम्कीपूर्ण व्यवहार गरी चन्दा आतङ्क मच्चाएपछि सर्लाही प्रहरीको सहयोगमा शुसलिङ्गलाई महोत्तरीको गौशालाबाट गिरफ्तार गरेको बताउनु भयो ।


अजयकुमार साह