प्रतिबन्धित नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी गिरफ्तार

  ०७६ असोज २ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी ४५ वर्षीय भीमबहादुर आले मगरलाई असोज २ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गौशाला नगरपालिका–८ बेलगाछीबाट मगरलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गौशलाका इन्स्पेक्टर किशोर आचार्यले जानकारी दिए ।

प्रतिबन्धित पार्टीमा रही भुमिगत गतिविधिमा लागेकाले प्रहरीले खोजतलास गर्दै आए उनलाई विशेष सुराकीको आधारमा उनलाई घरैबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गिरफ्तार गरिएको  सेक्रेटरी मगरलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइसकेको इन्स्पेक्टर आचार्यले जनाएको छ ।

उनीमाथि बर्दिवास नगरपालिका कार्यालयमा गत जेठ १३ गते कुकर बम राखेको आरोप लागेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर किशोर आचार्यले जानकारी दिए ।

यही आरोपमा सो पार्टीका इञ्चार्ज रुपबहादुर कार्कीलाई प्रहरीले भदौ १३ गते गिरफ्तार गरेर हिरासतमा राखेको छ । प्राप्त सूचना र प्रमाणको आधारमा दुवै जनाविरूद्ध थप आरोप सहित मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गिरफ्तारीमा परेका चन्द समूहका युवा सङ्घ महोत्तरीका अध्यक्ष विकासकुमार गुप्ता भने २५ दिनको न्यायिक हिरासतपछि धरौटीमा रिहा भएका छन् ।


अजयकुमार साह