प्रतिबन्धित नेकपाका नेता सर्वोच्च अदालतबाट रिहा भए लगत्तै गिरफ्तार

  ०७७ फागुन ११ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले पुन: गिरफ्तार गरेको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले फागुन १० गते नेता बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो ।

नेता बास्तोला रिहा भएलगत्तै प्रहरीले सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेको हो ।

बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै रिहा गर्न आदेश दिएको थियो ।

थुनामा राख्दा बाध्यात्मक रूपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण गिरफ्तार गरेको देखिएको सर्वोच्चका रजिष्टार लालबहादुर कुँवरले जानकारी दिनुभयो ।

नेकपाका सचिवालय सदस्य रहेका बास्तोलालाई प्रहरीले पुस २९ गते ललितपुरको बागमती गाउँपालिका–७ गिम्दीबाट गिरफ्तार गरेको थियो ।


विमला पौडेल