प्रतिबन्धित नेकपाका नेता अस्पतालबाटै गिरफ्तार

  ०७७ भदौ २१ गते

प्रतिबन्धित नेकपा (विप्लव) का केन्द्रीय स्तरका नेता अनिल शर्मा ‘विरही’लाई प्रहरीले भदौ २० गते भरतपुर अस्पतालबाट गिरफ्तार गरेको उहाँका भाइ शेष सापकोटाले बताउनु भयो ।

photochitwan20200906

रत्ननगर नगरपालिका–५ झुवानीस्थित घरमा वैशाख २३ गते बिहान भर्‍याङबाट लडेर घाइते भएपछि उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना भएको अबस्थामा प्रहरीले सोही दिन गिरफ्तार गरी भरतपुर अस्पतालमा ल्याई प्रहरीको निगरानीमा उपचार भइरहेको थियो ।

शर्मालाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाएकोमा जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको जेठ १८ गतेको इजालसले  उहाँलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । तर उहाँलाई प्रहरीको निगरानी कायमै थियो ।

मधुमेहका बिरामी रहेका शर्मा ढाडको चोटका कारण लामो समयको उपचारपछि अस्पतलबाट डिस्चार्ज भए लगतै प्रहरीले गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले भने धनुषा जिल्लामा शर्मा विरुद्ध मुद्दा भएकोले धनुषा प्रहरीको समन्वयमा नियन्त्रणमा लिइएको बताउनु भयो ।

धनुषा जिल्लामा भएको बम विष्फोट घटनाको अनुसन्धानका लागि भन्दै धनुषा प्रहरीले उहँलाई भदौ २० गते नै जनकपुर लगेको छ । प्रहरीले आफूलाई पक्राउ पूर्जी दिएको शर्माले इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीलाई बताउनु भयो ।


दिपेन्द्र अधिकारी