प्रतिबन्धित नेकपाका नेतालाई इन्सेक प्रतिनिधिसमेतको रोहबरमा रिहा

  ०७६ कात्तिक १ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका गल्कोट इञ्जार्च गल्कोट नपा–११ का २८ वर्षीय सुदर्शन नेपालीले रिहा भए लगत्तै कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय, बागलुङमा पार्टी परित्यागको जानकारी दिएका छन् ।

नेपालीलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले असोज १३ गते उनकै गाउँबाट गिरफ्तार गरेको थियो ।

कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय, बागलुङबाट उनलाई प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय, बागलुङका डिएसपी झपिन्द्रप्रसाद भट्टराई, इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्त, स्थानीय पार्टीका नेता र पत्रकारको रोहबरमा साधारण तारेखमा छाडिएको र लगत्तै उनले पार्टी परित्यागको जानकारी दिएका हुन् ।

नेकपाको सक्रिय राजनीतिमा रहेका नेपालीले पछिल्लो समय पार्टीले विध्वंशकारी गतिविधि बढाएपछि पार्टी परित्याग गरेको बताए ।

नेपालीले आगामी दिनमा पार्टीका कुनैपनि गतिविधिमा संलग्न नहुने भन्दै लिखित रूपमै पार्टीत्याग गरेको विज्ञप्ति जारी गरेका थिए ।


सिर्जना पन्त