प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७६ साउन २६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता नीलकण्ठ नगरपालिका–७ तारूखर्कका ३८ वर्षीय प्रल्हाद सिंखडालाई घरमा बसिरहेको बेला साउन २३ गते गिरफ्तार गरि हिरासतमा लिउको हो ।

पूर्वजनमुक्ति सेनाका लडाकु सिंखडाको गतिविधि अस्वाभाविक देखिएको र प्रतिबन्धित पार्टीमा लागेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोलामान सिंह अधिकारीले जानकारी दिए ।

प्रतिबन्धित नेकपाले एनसेलको टावरमा आगजनी गरेपछि सिंखडालाई सोही टावर आगजनीको आरोप लगाइएको छ ।

यसैगरी प्रहरीको टोलीले नीलकण्ठ नगरपालिका–३, बीचबजारबाट साउन १७ गते ५० वर्षीय चेरोङ तामाङलाई गिरफ्तार गरेको छ ।

नीलकण्ठ नगरपालिका–८ निवासी तामाङ प्रतिबन्धित नेकपाको रसुवा जिल्ला इन्चार्ज र व्यूरो सदस्य हुन् ।

बिरामी भएर घर आएको बेला तामाङलाई गिरफ्तार गरिएको पीडित पक्षले जनाएको छ । तामाङले आफूले पार्टीमा रहन स्वास्थ्यका कारण नसेकोले सबै जिम्मेवारी छाडेर घर आएको बताएका छन् ।

प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएकाहरूले प्रतिबन्धित गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।

प्रहरीले उनीहरूबारे अनुसन्धान भइरहेको र घटनाबारे यसभन्दा बढी जानाकारी दिन नमिल्ने प्रहरीले जनायो ।

उनीहरूलाई प्रहरीले गिरफ्तार गरी हिरासातमा लिएकोमा तत्काल रिहाइको लागि पहल गरिदिन अधिकारकर्मीसमक्ष प्रतिबन्धित नेकपाले साउन २६ गते अपिल गरेको छ ।

अधिकारकर्मीहरूलाई भेटेर प्रतिबन्धित नेकपाकाका कार्यकर्ताले मौखिक रूपमा यस्तो आग्रह गरेका हुन् ।


सीताराम अधिकारी