प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७६ साउन २४ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा भीरकोट नपा–९ घर भई हाल वालिङ नपा–९ बस्ने ३० वर्षीय मोहन सिञ्जाली र भीरकोट नपा–९ कै ४६ वर्षीय शिव दर्लामी रहेका छन् ।

गिरफ्तार भएकामध्ये दर्लामी जिल्ला समिति सदस्य र सिंजाली साधारण कार्यकर्ता रहेका प्रहरीले जनाएको छ ।

दर्लामीलाई साउन २२ गते राति गल्याङ नपा–३ गल्याङबाट र सिञ्जालीलाई साउन २३ गते वालिङबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका इन्स्पेक्टर विजयकुमार सिंहले जानकारी दिए ।

गिरफ्तार भएका दुवैजनालाई हाल जिल्ला प्रहरी कार्यालयस्थित हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


हिमलाल पराजुली