प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्ता गिरफ्तार

  पुस २१ गते

प्रतिबन्धित नेकपाका हतियार तथा विष्फोटक सामग्री निमार्णमा संलग्न नरहरिनाथ गाउँपालिका–९ का ३६ वर्षीय दुर्गबहादुर बोहोरा र साधारण सदस्य जाजरकोट भेरी नगरपालिका–२ का ३८ वर्षीय पदमबहादुर पुनलाई प्रहरीले ०७७ पुस २० गते गिरफ्तार गरेको छ  ।

प्रतिवन्धित नेकपाका गतिविधिमा लागेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई नरहरिनाथ गाउँपालिका–९, बाट  गिरफ्तार गरीएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर शाहले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

डीएसपी शाहका अनुसार उनीहरूबाट अर्धनिर्मित काठको एक थान बन्दुक, एक थान प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनियम लगायतका विस्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।

आरोपितहरुको स्वास्थ्य परीक्षण पुस २० गते जिल्ला अस्पताल कालिकोटमा गरिएको स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर भिष्म पोख्रेलले बताउनुभयो ।


कालीबहादुर मल्ल