प्रतिबन्धित नेकपाका तीनजना कार्यकर्ता पुनः गिरफ्तार

  ०७६ असोज १६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन स्याङ्जा जिल्ला सेक्रेटरी सहित तीजनालाई असोज १५ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
पोखरा मनपा–२७ घर भएका तत्कालिन स्याङ्जा जिल्ला सेक्रेटरी ३३ वर्षीय गोकुल पराजुली, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ घर भएका सो पार्टी निकट मजदुर सङ्गठनका जिल्ला अध्यक्ष २९ वर्षीय जीवन भन्ने गोविन्द ओली र स्याङ्जा जिल्ला भिरकोट नपा–२ घर भएका २७ वर्षीय सागर अर्याललाई जिल्ला प्रशासन कार्यालय, कास्की अगाडीबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
तीनैजनालाई गिरफ्तार गरेर तनहुँ प्रहरीलाई बुझाएको वडा प्रहरी कार्यालय, बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।
उच्च अदालत पोखराको आदेशमा भदौ २७ गते रिहा भए लगत्तै स्याङ्जा जिल्ला अदालत गेटबाट पुनः गिरफ्तार गरी पोखरा ल्याइएका तीनै जनालाई जिल्ला प्रशासन कार्यालय, कास्कीले असोज १३ गते अनुसन्धानका लागि चार दिनको म्याद थपेको थियो ।


सुशन घिमिरे