प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य सहित २१ जना गिरफ्तार

  ०७६ कात्तिक २ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज ५२ वर्षीय चन्द्रबहादुर चन्दसहित २१ जनालाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ ।

राजपुर गाउँपालिका–४ मा राप्ती व्युरोस्तरीय बैठक बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको एसपी जनकप्रसाद भट्राईले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गिरफ्तार हुनेमा केन्द्रीय सदस्य तथा राप्ती व्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर, राप्ती व्युरो तथा न्याय विभाग समितिका जिल्ला संयोजक रामबहादुर थापा, राप्ती व्युरो कार्यालय सचिव सविन पोख्रेल, दाङ जिल्ला इञ्चार्ज यमलाल कटुवाल, जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बविन केसी, दाङ जिल्ला परिषद् सदस्य एकराज चौधरी, राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहरा, दलित राष्ट्रिय मुक्तिमोर्चाका जिल्ला अध्यक्ष सुरज विक, वुद्धिजिवी सुनिल पौडेल, पूर्व जनमुक्ति सेना तिलक पुन, दाङ जिल्ला सदस्य हितप्रसाद रोका, रोल्पा जिल्ला सदस्य पोष्टमान घर्ती, सदस्यहरू दलबहादुर खत्री, अमित घर्तीमगर, बालकृष्ण शर्मा, जित क्षेत्री, कुलबहादुर वली, विष्णु थापा र रमेश आचार्य रहेका छन् ।

रातको समयमा जङ्गलभित्र रहेको एक घरमा बैठक चलिरहेको गोप्य सूचनाका आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

गिरफ्तारसँगै हातहतियार तथा विष्फोटक पदार्थसमेत बरामद गरिएकाले अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।


जे.एन.सागर