प्रतिबन्धित नेकपाका कार्यकर्ता कारागार कार्यालय भित्रैबाट पुनः गिरफ्तार

  ०७६ मङ्सिर ४ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्तालाई प्रहरीले कारागार कार्यालय भित्रबाटै पुनः गिरफ्तार गरेको छ ।

कमलामाई नगरपालिका–१ डाँडीगुराँसेबाट जेठ १२ गते गिरफ्तार गरिएका सर्लाही जिल्लाको हरिवन नगरपालिका–६ का ३० वर्षीय पवन महतो र भोजपुर जिल्ला षडानन्द नगरपालिका–१ नेपालडाँडाका ३७ वर्षीय तिर्थबहादुर राईलाई गिरफ्तार गरेको हो ।

इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेको रोहवरमा कारागार सिन्धुलीले उनीहरूलाई रिहा गरेको थियो । प्रहरीले गिरफ्तार गरी अभद्र व्यवहारमा मुद्दा खेपेका उनीहरूलाई भदौ १९ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ६ महिना कैद फैसला सुनाएपछि उनीहरूले सिन्धुली कारागारमा कैद भुक्तान गरेका थिए ।

कैद भुक्तान गरी मङ्सिर ४ गते जेलमुक्त भएका उनीहरूलाई रिहा लगत्तै कारागारको कार्यालय भित्रबाटै प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

उनीहरूलाई पक्राउ पुर्जी नदिई गिरफ्तार गरिएको छ । यसअघिको मुद्दा असार २ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकोमा असार ३ गते जनही २१/२१ हजार रुपियाँ धरौटी माग गरिएको थियो । धरौटी रकम तिर्न नसकेपछि आरोपितहरू जिल्ला कारागार सिन्धुलीमा थुनामा गएका थिए ।

राईको मुद्दा रामेछाप प्रहरीमा रहेको र महतोको मुद्दा सर्लाहीमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताएका छन ।

तर, उनीहरूविरूद्ध कुन कुन मुद्दा छन् ? भन्ने बारेमा भने आफू जानकार नभएको बताएका छन् । राई जनकपुर अञ्चल सदस्य हुन् भने महतो कार्यकर्ता हुन् । पुनः गिरफ्तार भएका महतोले सिन्धुली प्रहरीले हिरासतमा मानसिक यातना दिएको आरोपसमेत लगाएका छन् ।


बिमला पाण्डे