प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

  ०७६ कात्तिक ८ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका स्याङ्जा जिल्ला सेक्रेटरी कास्की जिल्ला पोखरा मनपा–२७ घर भएका ३३ वर्षीय गोकुल पराजुली, जिल्ला सदस्य स्याङ्जा जिल्ला भिरकोट नपा–२ घर भएका २७ वर्षीय सागर अर्याल र जिल्ला सदस्य रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ घर भएका जीवन क्षेत्रीलाई प्रहरीले कात्तिक ७ गते पुनः गिरफ्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, तनहुँको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै प्रहरीले जिल्ला प्रशासन कार्यालयको परिसरबाटै उनीहरूलाई पुनः गिरफ्तार गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई कात्तिक ७ गते जनही १ हजार रुपियाँ धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।
गिरफ्तार भएकाहरूको विरूद्धमा जिल्ला प्रहरी कार्यालय, लमजुङमा अर्काे मुद्दा भएको कारण जिल्ला प्रहरी कार्यालय, लमजुङको पत्राचार अनुसार पुनः गिरफ्तार गरेर लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी विनोद सिल्वालले जानकारी दिए ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनीहरू गत असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा रहेका थिए ।
तीनैजनालाई असोज १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा रिहा भएलगत्तै पुनः गिरफ्तार गरेर तनहुँ ल्याइएको थियो ।


प्रकाशचन्द्र भट्टराई