प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालबन्दी

  ०७६ असार २४ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले हुम्ला र मुगुका केही स्थानीय तहमा असार २३ गते राति तालाबन्दी गरेका छन् ।

‘पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौँ, सामाजिक दलाल पुँजीवादी सरकार खारेज गरौँ’ भन्ने नारा लेखिएको पम्पलेट टाँस गरी असार २३ गते हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको वडा नम्बर–३ र ४ मा र मुगुको सोरु गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ ।

असार ५ गते सो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र जेठ महिनामा भोजपुर जिल्लामा तिर्थ घिमिरेलाई प्रहरीले प्रहार गरेको गोलीबाट मृत्यु भएको विरोधमा सो समूहले स्थानीय तहमा तालाबन्दी गरेको प्रतिबन्धित नेकपा हुम्लाका जनसरकार प्रमुख कुम्भ बुढाले जानकारी दिए ।

स्थानीय तह, प्रदेश सरकारदेखि सङ्घीय सरकारमा समेत निकै ठूलो आर्थिक चलखेल भएको, आफन्तलाई ठेक्कापट्टाको काम दिएर कमिशन लिएका कारण तालाबन्दी गरेको बुढाले बताए ।

आफ्नो पार्टीले राखेका मागहरूका बारेमा सरकारबाट सुनुवाइ गर्नुभन्दा थप आतङ्क फैलाउँदै गएको भन्दै सो पार्टीका कार्यकर्ताले हुम्लाको अदानचुली गाउँपालिका–३ र ५ मा पनि राँके जुलुस सहित नाराबाजी पनि गरेका स्थानीयले बताए ।

तालाबन्दीका बारेमा ताँजाकोट गाउँपालिका अध्यक्ष बागदल मल्लसँग बुझ्दा सो कार्यालयमा ताला लगाएको भएपनि कसले गरेको हो जानकारी नआएको बताए ।

घटनाको बारेमा बुझ्न ताँजाकोट गाउँपालिकाको प्रहरी चौकीको टोली त्यस स्थानतर्फ लागेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी रामप्रसाद घर्तीमगरले बताए ।

वडा कार्यालयमा तालाबन्दी गरेपछि दैनिक जसो गर्दै आएका कामकाजहरूमा समस्या भएको स्थानीय मनलाल जैसीको गुनासो छ ।

संयुक्त क्रान्तीकारी जनपरिषद नेपाल जिल्ला समिति मुगु नाम दिएको सूचना टाँस गरी प्रतिबन्धित नेकपाले सोरू गाउँपालिकामा तालाबन्दी गरेको स्थानीय विनोद शाहीले जानकारी दिए ।

पार्टीले १५ बुँदे सूचना टाँस गरी गरेको तालाबन्दीमा ति बुँदाहरूको समस्या समाधान नगरी ताला खोले सम्बन्धित पक्ष जबाफदेही हुने उल्लेख छ ।


नन्द सिंह