प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

  ०७६ कात्तिक १ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले असोज ३० गते पुनः गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा सो पार्टीका म्याग्दी इन्चार्ज रुकुम जिल्ला सानोभेरी गाउँपालिका–२ घर भएका ४२ वर्षीय कमानसिंह नकाल क्षेत्री र म्याग्दी जिल्ला सेक्रेटरी बागलुङ नपा–३ घर भएका ४८ वर्षीय बाबुलाल शाक्य रहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

दुवै जनालाई म्याग्दी प्रहरीले साउन ६ गते म्याग्दीका विभिन्न पाँच स्थानमा एनसेल टावरमा आगजनीमा संलग्नता रहेको आरोपमा गिरफ्तार गरेको थियो ।

उनीहरूलाई जिल्ला अदालत, बागलुङले असोज ३० गते जनही १० हजार धरौटी सहित तारेखमा रिहा गरेपनि अदालत परिसरबाटै पर्वत प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

धरौटी बुझाउन आएका परिवारका सदस्यलाई भेट्न समेत नदिई दुवैजनालाई प्रहरीले पुनः गिरफ्तार गरेको अधिवक्ता राम शर्माले बताए ।

दुवै जनाका विरूद्ध स्याङ्जा जिल्लामा मुद्दा रहेकाले हाल हिरासतमा राखेर अनुसन्धान गरिरहेको र स्याङ्जा पठाउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर राजन रायमाझीले जानकारी दिए ।


सन्तोष थापा