प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाट पुनः गिरफ्तार

  ०७६ असोज ११ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका महोत्तरी इञ्चार्ज रूपबहादुर कार्की र सेक्रेटरी भीमबहादुर आलेलाई अदालत परिसरबाटै प्रहरीले पुन. गिरफ्तार गरेको छ ।

दुवैजनालाई महोत्तरी जिल्ला अदालतले असोज ९ गते साधारण तारेखमा छाड्ने आदेश दिए पनि हतकडी समेत नखोली प्रहरीले उनीहरूलाइ पुन. गिरफ्तार गरेको हो ।

बर्दिवास नगरपालिका कार्यालयमा गत जेठ १३ गते कुकर बम राखेको आरोपमा प्रहरीले कार्कीलाई भदौ १३ गते बर्दिवासबाट तथा आलेलाई असोज २ गते गौशाला नगरपालिकाबाट गिरफ्तार गरेको थियो ।

प्रहरीले दुवै जनाविरूद्ध कृत्रिम विष्फोटक पदार्थ राखेको आरोपमा मुलुकी अपराध संहिता ०७४ को दफा १४० बमोजिम तीन वर्ष कैद र ३० हजार रुपियाँ सजाय माग दावी सहित मुद्दा दायर गरेको थियो ।

आरोपमाथि बिहीबार सुनवाई गर्दै अदालतले बम दाबी गरिएको कुकर भित्र साबुन र मोबाइल बाहेक कुनै प्रकारको विष्फोटक पदार्थ फेला नपरेको हुँदा तत्काल प्राप्त सबुद प्रमाणका आधारमा कार्की र आलेलाई रिहाइको आदेश दिएको थियो ।

कार्की र आलेकोतर्फबाट अधिवक्ता उद्धव क्षेत्री र अभियोजनको तर्फबाट जिल्ला न्यायाधिवक्ता कृष्णप्रसाद पुडासैनीले बहस गरेका थिए ।

बहसपछि आदेश जारी गर्दै न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले जनही ३० हजार रुपियाँ धरौटी सहित कार्की र आलेलाई साधारण तारेखमा छाडने आदेश दिएको थियो ।

‘आदेशपछि असोज ९ गते नै धरौटी समेत जम्मा गराइ सकेको हुँदा दुवैजना अदालतबाटै रिहा हुने भनेर पर्खेर बसेका थियौँ ।’–दीपेशले भने–‘तर प्रहरीले ‘हामीले पनि क्लिन चिट’ दिनुपर्छ भन्दै दुवैजनालाई हतकडी सहितै जिल्ला प्रहरीमा लगेर पुनः थुनामा पठायो ।’

जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले अन्य जिल्लामा घटेका घटनामा समेत उनीहरूको संलग्नताबारे अनुसन्धान गर्नु परेकोले दुवैलाई थुनामै राख्नु परेको बताए । एसपी अधिकारीले भने–‘हामीले दुवैलाई असोज १० गते बिहान सर्लाही प्रहरीको जिम्मा लगाएका छौँ ।’


अजयकुमार साह