प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा रिहालगत्तै प्रशासनमा आत्मसमर्पण

  ०७६ असोज ६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा तनहुँका जिल्ला नेता ३१ वर्षीय अमृत सापकोटाले रिहा लगत्तै जिल्ला प्रशासन कार्यालय, बागलुङमा असोज ५ गते आत्मसमर्पण गरेका छन् ।

तनहुँ जिल्ला व्यास नपा-१४ का सापकोटालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले भदौ २० गते बागलुङबाट गिरफ्तार गरेको थियो ।

असोज ५ गते जिल्ला प्रशासन कार्यालय, बागलुङबाट १० हजार रुपियाँ धरौटी बुझाई रिहा भए लगत्तै सापकोटाले बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्ट, सशस्त्र प्रहरी बल नेपाल गुल्म बागलुङका सई किशन केसी, इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्त सहितको रोहवरमा लिखित रूपमै पार्टी परित्यागको घोषणा गरेका छन् ।

लामो समयसम्म नेकपाको सक्रिय राजनीति गरेका सापकोटाले पछिल्लो समय पार्टीले विध्वंशकारी गतिविधि बढाएपछि आफूले पार्टीको काम छोडेर बसेको प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

प्रतिबद्धता पत्रमार्फत आगामी दिनमा पार्टीको कुनैपनि गतिविधिमा संलग्न नहुने भन्दै सापकोटाले लिखित रूपमै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।


सिर्जना पन्त