प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाटै पुनः गिरफ्तार

  ०७६ भदौ २० गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्वतको हिरासतमा रहेका तनहँु जिल्ला व्यास नपा–१४ बस्ने ३१ वर्षीय अमृत सापकोटालाई जिल्ला अदालत, पर्वतको आदेशमा रिहा गरेलगत्तै प्रहरीले भदौ १९ गते पुनः गिरफ्तार गरेको छ ।

हाल पोखरा मनप–९ मा बस्दै आएका सापकोटालाई गत साउन २६ गते जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई सोही दिन जिल्ला प्रहरी कार्यालय, पर्वतलाई बुझाएको थियो ।

सापकोटाकाविरूद्ध सार्वजनिक हित विपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्वतले अनुसन्धान गरिरहेको थियो ।

२५ दिनसम्म जिल्ला प्रहरी कार्यालय, पर्वतको हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीले भदौ १९ गते जिल्ला अदालत, पर्वतमा पेश गरेको थियो ।

न्यायाधीश सुर्यबहादुर थापाको आदेशले सापकोटासँग भदौ १९ गते नै ४० हजार रुपियाँ धरौटी माग गरी रिहा गर्न भनेको थियो ।

सापकोटालाई जिल्ला प्रहरी कार्यालय, बागलुङबाट नियन्त्रणमा लिनु भनी आएको सूचना अनुसार बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय, पर्वतका डिएसपी श्यामु अर्यालले बताए ।


सन्तोष थापा