प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७७ साउन १४ गते

प्रतिबन्धित नेकपाका जिल्ला कमिटि सदस्य शैल्यशिखर नगरपालिका–२ का प्रताव वड, सोही ठाउँका चक्रमान विक र दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष शैल्यशिखर नगरपालिका–३ लुइटाका धनीराम लावडलाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामधनी विष्टले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेशको १३३२ नम्बरको पल्सर मोटरसाइकलमा साउन ८ गते आगजनी गरेको आरोपमा उहाँहरुलाई घरबाटै गिरफ्तार गरिएको हो ।

गिरफ्तार गरिएका विक, वड र लावडविरुद्ध साउन १३ गते राजद्रोहसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

उहाँहरुबाट कम्ब्याड ड्रेस, चन्दा असुलीका रसिद, पुस्तक तथा कार्यक्रममा सहभागि भएका विभिन्न दस्तावेजहरु फेला परेको प्रहरीले जनाएको छ ।


नरेन्द्रसिह कार्की