प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७७ असार २८ गते

प्रतिबन्धित नेकपा निकट युवा सङ्गठनका केन्द्रीय सदस्य ३२ वर्षीय श्यामराज भट्टलाई असार २७ गते प्रहरीले पाटन नगरपालिका–८ हतासबाट गिरफ्तार गरेको छ ।

प्रतिबन्धित नेकपाका जिल्ला समितिका सदस्यसमेत रहेका भट्टलाई गोप्य सूचनाका आधारमा स्थानीय जङ्गलमा पाइप मर्मत गरिरहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर गौरीशंकर जैसीले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

गिरफ्तारीमा परेका भट्टलाई हिरासतमा राखी अनुसन्धान भइरहेको इन्स्पेक्टर जैशीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । भट्टलाई यसअघि पनि प्रहरीले दुई पटक गिरफ्तार गरेको भएपनि जिल्ला प्रशासनको आदेशमा धरौटीमा रिहा भएका थिए ।

यसैगरी प्रतिबन्धित नेकपाका दोगडाकेदार गाउँकमिटि सदस्य दोगडाकेदार गाउँपालिका– ६ सलेनाका ३२ वर्षीय करन ऐरीलाई  प्रहरीले असार २६ गते डिलाशैनी गाउँपालिका–६ कटौजबाट गिरफ्तार गरेको छ ।

गाउँमा नागरिकहरुलाई डरधम्की दिएर चन्दा उठाई रहेको भन्ने गोप्य सूचनाका आधारमा ऐरलाई गिरफ्तार गरी अुनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर गैरीशंकर जैशीले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कबाट बताउनु भयो ।

ऐरीसँगै रहेका दार्चुला जिल्ला इन्चार्ज रामसिह कुवँर भने फरार रहेकाले खोजी कार्य भइरहेको इन्स्पेक्टर जोशीले बताउनु भयो । तर, प्रतिबन्धित नेकपाका दार्चुला जिल्ला इन्चार्ज रामसिह कुवँरले भने प्रहरीले गिरफ्तार गरेका ऐर आफ्नो पार्टीको कार्यकर्ता नभएको इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कबाट बताउनु भयो ।


नरी बडु