प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७७ वैशाख २४ गते

प्रतिबन्धित नेकपाको कार्यकर्ता भएको आरोपमा विजय शर्मा भनिने ४५ वर्षीय दुर्गा सुबेदीलाई चितवन प्रहरीले वैशाख २३ गते गिरफ्तार गरेको छ ।

चितवनमा विभिन्न समयमा एनसेल टावरमा बम विस्फोट गराएको आरोप लागेका सुबेदी प्रतिबन्धित नेकपाको चितवन जिल्ला सेक्रेटरी रहेको प्रहरीले जनाएको छ । आरोपितलाई भरतपुर महानगरपालिका–११ स्थित घरबाटै गिरफ्तार गरी हाल प्रहरीको हिरासतमा राखिएको चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङले बताउनु भयो ।

आरोपितको स्वास्थ परीक्षण वैशाख २४ गते भरतपुर अस्पतालमा गरिएको छ । प्रहरीले मुद्दा भने दर्ता गरेको छैन ।

यस्तै प्रतिबिन्धित नेकपाका कार्याकर्ता विरही भनिने ५५ वर्षीय अनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिका–५ झुवानी स्थित घरमै वैशाख २३ गते बिहान लडेर चोट लागेपछि  भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागि भर्ना भएका अनिललाई बिरामीको विवरण लिने क्रममा विप्लव समर्थित रहेको एकिन भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अनिल पार्टीको पोलिटव्यूरो सदस्य रहेको बताइएको छ । विभिन्न स्थानमा बम विस्फोट गराएको आरोपमा गिरफ्तार गरिएको प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो ।

प्रहरीको निगरानीमा रहेका आरोपितको अहिले मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार भइरहेको डिएसपी एकनारायण कोइरालाले बताउनु भयो । डिएसपी कोइरालाका अनुसार उहाँको ढाडमा चोट लागेको तर खतरामुक्त रहेको छ ।


दिपेन्द्र अधिकारी