प्रतिबन्धित नेकपाका उपत्यका इञ्चार्ज गिरफ्तार

  ०७६ असोज ९ गते

कालिकोट जिल्ला घर भई हाल ललितपुर महालक्ष्मी नपा–८ लुभु बस्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका उपत्यका इञ्चार्ज ४३ वर्षीय नविन विश्वकर्मा ‘हितमान’ लाई प्रहरीले असोज ६ गते गिरफ्तार गरेको छ ।

उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको नेपाल प्रहरीको विशेष ब्यूरोले महालक्ष्मी नपा–३ स्थित बोझेपोखरीबाट प्र.३–०२–००३ प.५१३१ नं.को कालो रङको पल्सर मोटरसाइकलमा सवार रहेको अवस्थामा गिरफ्तार गरी असोज ८ गते एक विज्ञप्तिमार्फत सो कुरा सार्वजनिक गरेको हो ।

गत वैशाख २ गते जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भई खोजतलासको क्रममा गिरफ्तारीमा परेका विश्वकर्माको साथबाट पार्टीसँग सम्बन्धित कागजात, डायरी, मोबाइल तथा सिमकार्डहरू फेला परेको महानगरीय प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहले बताइन् ।

विश्वकर्मालाई ०७५ फागुन १० गते नख्खुमा रहेको एनसेल प्रा.लि.मुख्यालयमा भएको बम विष्फोटनमा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएको एसपी सिंहले बताइन् ।


दीपकप्रसाद घिमिरे