प्रतिबन्धित नेकपाका इञ्चार्जसहित दुई जना गिरफ्तार

  ०७६ असोज ७ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका सुनसरी इञ्चार्ज उदयपुर घर भएका ३६ वर्षीय लक्ष्मण पौडेलसहित दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले विप्लव समूहको सुनसरी इञ्चार्ज पौडेलसहित बाजुरा घर भएका जिल्ला सेक्रेटरी सन्देश भनिने ४३ वर्षीय सन्तोष विष्टलाई इटहरी उमनपा-१७ बाट असोज ६ गते गिरफ्तार गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट महत्वपूर्ण कागजात र लेटरप्याड बरामद भएको समेत गरेको छ । भदौ १९ गते इटहरीस्थित सुष्मा गोदावारी कलेजमा बम राख्ने कार्यमा संलग्न भएको प्रहरीको सुक्ष्म अनुसन्धानबाट खुलेको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । भदौ १९ मा एकैरातमा इटहरीको सुष्मा गोदावरी र धरानको विपी प्रतिष्ठान हाताभित्रको दिल्ली पब्लिक स्कुल क्षेत्रमा बम विष्फोट भएको थियो ।

सुष्माको पर्खाल भत्किएको थियो भने दिल्ली पब्लिकको मुख्य गेटमा क्षति पुगेको थियो । दुई साताअघि सुनसरीको इटहरीको सुष्मा गोदावरी कलेजमा बम विष्फोट भएको थियो । ती विष्फोटहरूमा उनीहरूको संलग्नता रहेको आरोप छ ।


जयकृष्ण यादव