पोखरिया नगरपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क औषधी अभाव

  ०७६ फागुन २२ गते

पोखरिया नगरपालिकाका स्वास्थ्य संस्थामा आषधी अभाव भएको छ । पोखरिया नगरपालिकामा चालु आर्थिक वर्षको यो अवधीमा स्वास्थ्य चौकीहरूमा औषधी खरिद नगरिँदा औषधी अभाव भएको हो ।

गएको साउन महिनादेखि नै स्वास्थ्य चौकी र १५ शैय्याको अस्पतालको लागि नगरपालिकाले औषधी खरिद गर्न सकेको छैन । नगरपालिकाले टेण्डर मार्फत औषधी खरिद गर्ने निर्णय गरे पनि प्रमुख प्रशासकीय अधिकृतको अभावमा त्यो प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।

पोखरिया नगरपालिकामा ३९ हजार जनसङ्ख्या रहेकोमा ६ ओटा स्वास्थ्य चौकी र एउटा अस्पतालले स्वास्थ्य सेवा दिँदै आएको तर सरकारले निःशुल्क उपलव्ध गराउने भनिएको औषधीहरू कुनै पनि स्वास्थ्य संस्थाले निःशुल्क वितरण गर्न पाएका छैनन् ।

पोखरिया नगरपालिकाका प्रमुख दीप नारायण रौनीयारले औषधी खरिद नभएको बताउनु भयो । उहाँले टेण्डर मार्फत औषधी खरिद गर्ने निर्णय भएको तर प्रमुख प्रशासकीय अधिकृतको अभावमा सम्पूर्ण काम नै ठप्प भएको बताउनु भयो । उहाँले संघीय मन्त्रालयले पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन सुरुदेखि नै चासो नदेखाएको भन्दै आक्रोस व्यक्त गर्नु भयो । नगरपालिकाका प्रमुख रौनीयारले नागरिकको स्वास्थ्यलाई संवैधानिक रुपमा मौलिक हकको रुपमा स्थापित गरेको छ तर म जनप्रतिनिधि भएर त्यो हकलाई प्रचलनमा ल्याउन नसक्ने निरिह भएको छु । उहाँले भन्नु भयो—“प्रशासकीय अधिकृतको सरुवा हुन्छ, अर्को पठाउने छाँटै देखिँदैन, प्रशासकीय अधिकृत देउ भन्दै मन्त्रालयमा डेलीगेशन जानु पर्छ । एक जान प्रशासकीय अधिकृत पठाउन नसक्नेहरूले देश चलाएका छन् जुन उद्धेक लागदो छ ।” जनताबाट निर्वाचित म, जनतालाई मैले जवाफ दिनु पर्छ, औषधिको व्यवस्था मिलाउन नसक्दा मलाई चिन्ता लागेको छ तर यो सरकारलाई पोखरियाको समस्याले नछुने उहाँले बताउनु भयो ।

राज्यले स्वास्थ्य संस्था मार्फत ३९ प्रकारका औषधी नागरिकलाई निःशुल्क उपलब्ध गराउने भनेको छ । स्थानीय तहको निर्वाचन नहुँदासम्म जिल्ला जनस्वास्थ्य कार्यालयले औषधीको आपूर्ती व्यवस्था मिलाउँदै आएकोमा अहिले सम्बन्धित स्थानीय तहले नै औषधीको आपूर्ती व्यवस्था मिलाउँदै आएका छन् । पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ दिने सेवाकालीन तालिममा सहभागि हुनुहुन्छ । उहाँको अभावमा स्वास्थ्य लगायत नगरपालिकाका सबै शाखाहरुले  काम गर्न पाएका छैनन् । तथापी पोखरिया नगरपालिकाले निमित्त कार्याकारीको माध्यमबाट औषधी आपूर्तिको टेण्डर आज भोलिमा आह्वान गर्ने तयारी गर्दै गरेको प्रमुख रौनीयारले बताउनु भयो ।


केसी लामिछाने