पोखराबाट जोखिमपूर्ण श्रममा लगाइएका चार बालिकाको उद्धार

  ०७६ मङ्सिर २४ गते

पोखरामा जोखिमपूर्ण श्रममा लगाइएका चार जना बालिकाको उद्धार गरिएको छ । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकका चार ओटा होटलबाट १४ वर्ष मुनिका बालिकाहरूको उद्धार मङ्सिर २३ गते गरिएको हो ।

उदयपुर जिल्ला घर भएकी १३ वर्षीया सुस्मीता घर्तीमगर, १२ वर्षीया अस्मिता घर्तीमगर, रुपन्देही जिल्ला घर भएकी आठ वर्षीया इच्छा घर्तीमगर र तनहुँ जिल्ला भिमाद नपा घर भएकी नौ वर्षीया सुस्मीता थापा मगरलाई उद्धार गरिएको शक्ति समूह कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार पोखरा महानगरपालिकाको संयोजन तथा पोखरा उद्योग वाणिज्य सङ्घ बालश्रम न्यूनीकरण कार्यक्रम, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र शक्ति समूहको समन्वयमा  पृथ्वीचोकस्थित बसपार्कमा रहेको अस्मिता सोलुखुम्बु सगरमाथा रेष्टुरेष्ट, मार्फा थकाली रेष्टुरेष्ट, सन्दीप होटल र हिमालयन थकाली गेष्ट हाउसबाट बालिकाहरूको उद्धार  गरिएको हो ।

बालिकाको उचित संरक्षण र व्यवस्थापनका लागि आपत्कालीन गृह कास्कीमा राखिएको छ । १४ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाए १ वर्ष कैद र ५० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।


सुशन घिमिरे