पूर्वाञ्चल विश्व विद्यालयमा विद्यार्थी सङ्गठनका कार्यकर्ताद्वारा तोडफोड र तालाबन्दी

  ०७६ असार २३ गते

प्रधानमन्त्री कार्यालयको निर्देशन विपरीत पूर्वाञ्चल विश्वविद्यालयले सेवा आयोगको काम अघि बढाएको आरोपमा विद्यार्थी सङ्गठनले विश्व विद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा असार २२ गते तोडफोड गरी ताला लगाएका छन् ।

०७५ चैत ५ गते प्रधानमन्त्री कार्यालयले दैनिक सम्पादनबाहेकका अन्य काम तत्काल रोक्न निर्देशन दिएपनि पूर्वाञ्चल विश्व विद्यालयले सो आदेशलाई अटेर गरी शैक्षिक पदहरूको परीक्षा सञ्चालन गर्ने सूचना सार्वजनिक गरेपछि विरोध गरिएको विद्यार्थी सङ्ठनले जनाएका छन् ।

सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सह-प्राध्यापक र उप-प्राध्यापकका लागि ०७५ साउनमा विज्ञापन खुलाएको थियो ।

सोही विज्ञापनमा हाल आएर परीक्षा सञ्चालनका लागि विश्व विद्यालयले प्रक्रिया अघि बढाएपछि विरोध गरिएको अनेरास्ववियू, अखिल क्रान्तिकारी, सङ्घीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी सङ्घ र नयाँशक्ति विद्यार्थी सङ्गठनले जनाएका छन् ।

विद्यार्थी सङ्गठनहरूले विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकमा रहेको विश्व विद्यालयको केन्द्रीय कार्यालयस्थित उपकुलपति र रजिष्ट्राको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

तालाबन्दी गर्नुअघि विद्यार्थीहरूले जनता बहुमूखी क्याम्पसको माथिल्लो तलामा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयको झ्यालको सिसा फुटाउनुको साथै उपकुलपति प्रा.डा. घनश्याम लाल दास र रजिष्ट्रार प्रमिला थापाको नेमप्लेटसमेत तोडफोड गरेर फालीदिएका थिए ।

त्यस्तै विराटनगर महानगरपालिका-३ वरगाछीमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा समेत विद्यार्थी सङ्गठनले तोडफोड गरेका छन् ।

विद्यार्थीहरूले तोडफोड गर्दा विश्वविद्यालयका कम्प्युटर, ल्यापटप, प्रिण्टर, दराज र कुर्सीमा क्षति पुगेको विश्व विद्यालय प्रशासनले जनाएको छ ।


ईन्दिरा भट्टराई