पूर्णखोप जिल्ला घोषणा । १८ प्रतिशत बालबालिका खोपबाट वञ्चित !

  ०७६ फागुन २६ गते

चार वर्षअघि पूर्णखोप जिल्ला घोषणा गरिएको भएता पनि खोपको दिगो व्यवस्थापन हुन नसक्दा १८ प्रतिशत बालबालिका खोपबाट वञ्चित रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ ।

स्वास्थ्य कार्यालय,बैतडीको आर्थिक वर्ष ०७५ / ०७६ को जिल्लाभरीको तथ्याङ्क अनुसार बालबालिकाले अनिवार्य पाउनु पर्ने बिसिजी , डिपिटी, हेपाटाईटिस बी, इन्फ्लुएन्जा बी तेश्रो, पोलियो खोप दोश्रो , जेई, र दादुरा रूबेला खोप ८२ प्रतिशत बालबालिकाले मात्र पाएका छन् ।

जिल्लाका १० ओटा स्थानीय तहको आर्थिक वर्ष ०७५ / ०७६ को तथ्याङ्क हेर्ने हो भने अझै नाजुक अवस्था देखिन्छ । शिवनाथ गाउँपालिका ६१ प्रतिशत र सिगास गाउँपालिकामा ७५ प्रतिशत बालबालिकाले मात्रै खोप पाएको तथ्याङ्क छ ।

मेलौली नगरपालिकाले भने शतप्रतिशत बालबालिकालाई खोप पु¥याएको स्वास्थ्य कार्यालय,बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो ।

स्वास्थ्य कार्यालय प्रमुख भट्टले स्थानीय तहमा खोप भण्डारण गर्ने रेफ्रिजेनेटर नहुँदा स्थानीय तहमा पठाएका खोप खेर जाने समस्याका कारणले पनि शतप्रतिशत बालबालिकाले खोप पाउन नसकेको बताउनु भयो । सोलार बत्ती राखेर भए पनि स्थानीय तहले खोप भण्डार गर्ने व्यवस्था मिलाउनु पर्ने भट्टको भनाइ छ ।

पूर्णखोप जिल्ला घोषणापछि स्वास्थ्य संस्थालाई तीन तहमा बाँडेर सबैको अलगअलग जिम्मेवारी हुने भनिएता पनि स्थानीय तहमा स्वास्थ्य क्षेत्रको संवेदनशीलताबारे ज्ञान नहुँदा बैतडीको स्वास्थ्य सूचाङ्क ओरालो लागेको छ ।

दिगो खोप व्यवस्थापनका लागि स्थानीय तह जिम्मेवार बन्न स्वास्थ्य कार्यालय,बैतडीले फागानु २५ गते सबै स्थानीय तहका प्रमुख, उप प्रमुख लगायत प्रमुख प्रशासकीय अधिकृतको संयुक्त भेला बोलाएर खोप व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिको संयुक्त भेलामा स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोपको दिगो व्यवस्थापन गर्न स्थानीय तहले अनिवार्य खोप भण्डारण गर्न रेफ्रिजेनेटर किन्नु पर्ने बताउनु भयो ।

भट्टले भन्नु भयो – ‘खोप उत्पादन हुने ठाउँदेखि बच्चाको पाखुरासम्म पुगुन्जेल खोपको तापक्रम सन्तुलित राख्न स्थानीय तहमा रेफ्रिजेनेटर आवश्यक छ । स्वास्थ्य क्षेत्र अन्य विकास निर्माण जस्तो क्षेत्र नभएकोले सानो लापरबाहीले स्वास्थ्य अवस्था बिग्रिन सक्छ । त्यसैले सबै स्थानीय तह जिम्मेवार बन्न जरूरी छ ।’

स्वास्थ्य कार्यालय बैतडीले स्थानीय तहको आर्थिक वर्ष ०७५ / ०७६ मा दुई वर्षमुनीका बालबालिकाले अनिवार्य पाउनु पर्ने खोप शतप्रतिशत नपाएको तथ्य सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको खोपको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७५ / ०७६ मा शिवनाथ गाउँपालिका ६१ प्रतिशत, सिगास गाउँपालिका ७५ प्रतिशत, पाटन नगरपालिका ६ प्रतिशत, पञ्चेश्वर गाउँपालिका ८९ प्रतिशत, दशरथचन्द नगरपालिका ८४ प्रतिशत, सुर्नया गाउँपालिका ९३ प्रतिशत, पुरचौडी नगरपालिका सात प्रतिशत, दोगडाकेदार गाउँपालिका ८२ प्रतिशत, डिलासैनी गाउँपालिका ९४ प्रतिशत र मेलौली नगरपालिका शतप्रतिशत (१०६ प्रतिशत) बालबालिकाले खोप पाएका छन् ।

 


नरी बडु