पुल भत्किएको चार वर्षमा पनि मर्मत नहुँदा विद्यार्थीलाई जोखिम

  ०७६ कात्तिक २७ गते

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ कपुर गाउँका १६ वर्षीय रोजी तामाङ विद्यालय जानका लागि साँढे दुई घण्टा हिड्छन् ।

लापा माविको कक्षा १० मा पढ्ने रोजीलाई हिँड्न समस्या थिएन तर भुम्लाखोलाको झोलुङ्गे पुल तर्न भने हरेक दिन जोखिम मोल्नु पर्छ ।

पुलको भँुइको भाग ध्वस्त भएपछि पुल तरेर हिँड्नेहरू समस्या पर्ने गरेका हुन् । विद्यालय जाने रोजी मात्र होइन ४० जना विद्यार्थी हरेक दिन जोखिमपुर्ण पुल तरेर विद्यालय जाने गर्छन् ।

जोखिमपुर्ण पुल तर्नु पर्ने भएपनि गाउँपालिका र वडाले समेत बेवास्ता गर्दा समस्या आइरहेको कपुरगाउँका सबिना तामाङले बताइन् ।

पुलका कारण आफूहरूले समस्या भोगिरहेको कपुरगाउँबाट कक्षा १० मा अध्यायनका लागि विद्यालय जाने दिपेन्द्र तामाङको भनाइ छ ।

विद्यालय जाँदा पुल भत्केकोले लडेर घाइते समेत भएकाले छिट्टै मर्मत गरिदिए आफूहरूलाई सजिलो हुने तामाङले बताए ।

कपुरगाउँ, लाप्चेत, कुप्चेत लगायतको गाउँबाट विद्यार्थी विद्यालय जाँदा समस्या भयो भनेर गाउँपालिकामा मर्मका लागि गाउँबासीले कुरा गरे ।

वडा अध्यक्ष धिरज तामाङले पनि गाउँपालिकामा समस्या भएको कुरा राखेको र पुल क्षतिग्रस्त भएको चार वर्ष भइसक्दा समेत सम्बन्धित निकायले ध्यान नदिएको पीडित समिर गुरुङले बताए ।

पुल मर्मत नहुँदा दैनिक आवतजावत गर्ने विद्यार्थी र अन्य मानिसहरूले समस्या भोगिरहेका छन् । पुलको भुँइको भाग नभएकोले मानिसहरू पुलको लठ्ठामा समोर लठ्ठामा टेकेर हिँड्नु पर्ने अवस्था आएको र आफूले पनि समस्या भोगिरहेको लापामा पुनःनिर्माणका लागि सामाजिक अभियान्ता सरोज कार्कीले बताए ।

यो सबै टोलबाट स्वास्थ्यचौकी, विद्यालय, लापामा रहेको बजार र अन्य कामका लागि हरेक दिन ९० जनाभन्दा बढीले पुल प्रयोग गर्ने गरेको वडाध्यक्ष धिरज तामाङको भनाइ छ ।

०७२ वैशाख १२ गेको भूकम्पले क्षति पुगेर मानिस तर्न समस्या परेको पुल मर्मत सुरू गरेपछि वैशाख २९ गतेको पराकम्पनले पहिरो आएर भत्काएको थियो । त्यसपछि पुल मर्मत भएको छैन ।

photo20191113dhading1

photo20191113dhading2


सीताराम अधिकारी