पुल निर्माणको माग गर्दै ३७ दिन रिले अनशन, अबको आन्दोलन काठमाडौँ केन्द्रित

  ०७६ असोज २८ गते

नेपाल-भारत सीमा नाका बैतडीको जुलाघाट पक्की पुल निर्माणको माग गर्दै ०७६ भदौ २२ गतेदेखि सुरू गरिएको रिले अनशन स्थगित गरेर आन्दोलनको स्वरूप परिवर्तन गरिएको छ ।

पुल निर्माणको माग गरेर अनशन बसेको ३७ दिन बितिसक्दा पनि सरकारले कुनै पहल नचालेकाले अनशन स्थगित गरी राजधानी केन्द्रित आन्दोलन गर्न बाध्य भएको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए ।

photo20191015baitadi (2)

समितिले असोज २७ गते एक विज्ञप्ति जारी गर्दै आफ्ना मागप्रति सरकारले कुनै प्रतिक्रिया नजनाउनु दुर्भाग्य र बिडम्बनापूर्ण भएको उल्लेख गरेको छ ।

संयोजक चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि आन्दोलन गरिरहेका भएपनि मागप्रति सरकारले कुनै ध्यान नदिएको उल्लेख गरिएको छ ।

photo20191015baitadi (1)

शान्तिपूर्ण रिले अनशनतर्फ सरकारको ध्यान नगएकाले अब काठमाडौँ केन्द्रित सङ्घर्षका कार्यक्रम गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आन्दोलनको स्वरुप परिवर्तन गरेर सङ्घीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलनको तयारी भएको अध्यक्ष चन्दले जानकारी दिए ।

झुलाघाट नाकामा पक्की पुल निर्माण गर्नु सुदूरपश्चिमको समग्र विकासका लागि भएकाले यो मुद्दालाई अझै व्यापक बनाइने समितिले जनाएको छ ।

झुलाघाटमा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताहरूले बेला-बेलामा आश्वासन दिएको भएपनि अहिलेसम्म पूरा हुन सकेको छैन ।

झुलाघाट नाकामा अहिले करिब १ सय ५० वर्षपुरानो झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । सुगौली सन्धि पश्चात अङ्ग्रेज सरकारको पालामा बनेको पुल जीर्ण अवस्थामा छ ।

असोज २४ गते सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि माया भट्टले आन्दोलनको स्वरुप परिवर्तन गरे आफ्नो पुर्ण साथ रहने मौखिक प्रतिबद्धता जनाएकी थिइन् ।

काठमाडौँ केन्द्रित सङ्घर्षका कार्यक्रममा आफ्नो साथ रहने मन्त्री माया भट्टको भनाई छ । सङ्घीय सरकारसँग आफूले पुलका विषयमा निर्णायक छलफल गर्ने उनको भनाई छ ।

पुल निर्माणको विषय समृद्धिसँग जोडिएकाले यो मुद्दालाई ओझेलमा पार्न नदिने सङ्घर्ष समितिले जनाएको छ ।


नरी बडु