पुल नहुँदा विद्यालय जान ताङ्लोको साहारा (फोटोसहित)

  ०७३ असोज १८ गते

कालो पाइन्ट । निलो आकाशे सर्ट । विद्यालयको पोशाक हो यो । निकै चर्को घाममा पिठ्यूँमा झोला बोकर विद्यालयबाट घर फर्कँदै थिए । गर्मीले कमिज टाउकोमा बाँधेर नदी माथि लगाइएको तार छिचोल्ने तयारीमा छन् आधा दर्जन बालबालिका । उनीहरू मध्ये एक जनाले पिठ्यूँमा बोकेको झोला निकाल्दै थिए । नदीमाथिको फलामे तारको लम्बाइ ५० मिटर बढी नै छ । उनले एकैछिनमा झोलाबाट डोरीले बाँधिएको काठको घरेलु सामग्री ताङ्लो (हेर्दा अङ्कुसे जस्तै देखिने) निकाले । कम्मरमा झोला र ताङ्लो कसेपछि उनको नदी तर्ने काम शुरु भयो ।

यो सिप्टी-८ चिउरेबगरका १२ वर्षीय महेश कामीको दैनिकी हो । खाइलाग्दो ज्यान छ । उमेरले पनि ठूलै भएका छन् । तर उनी हाल कक्षा ३ मा अध्ययनरत छन् । विद्यालय जाने दैनिकी उनको तुइनको साहारा भएको कारण उनले सानैमा विद्यालय जान पाएनन् । उनले दैनिक विद्यालय आवतजावत गर्न त्यही ताङ्लो झोलामा राख्छन् । बरु किताब छुट्छ तर ताङ्लो छुट्दैन । नदीमा पुल नहुँदा दैनिक विद्यालय आवतजावत गर्न झोलामा ताङ्लो बोक्नुपर्छ । उनी जस्तै ताङ्लोको साहारामा विद्यालय आवतजावत गर्ने विद्यार्थी चिउरेबगरमा मात्रै झण्डै २० जना छन् । विद्यालय पुग्न आधा घण्टा भन्दा धेरै समय लाग्छ । तर, जोखिम निकै मोल्नुपर्छ । यहाँका बालबालिकाहरू दिपज्योति प्रावि, चिउरेबगर धुलीगडामा अध्ययन गर्छन् । सिप्टीको विद्यालय झनै टाढा छ ।

'गत वर्षमात्र विद्यालयबाट फर्कने क्रममा एक बालिकाले तुइनबाटै खसेर ज्यान गुमाउनु परेको थियो' अभिभावक प्रेमसिंह ठगुन्नाले भने । खोलामा अस्थायी निर्माणको लागि माग भए पनि सुनवाइ नभएको उनको भनाइ छ । गाविस सिप्टीमा पर्ने भए पनि सबै कामकाज विद्यालय जान धुलीगडा नै सहज भएकोले धुलीगडासँग पुल निर्माणको लागि माग गरिएको उनले बताए । बालबालिकालाई विद्यालय पठाउन तुइनसम्म अभिभाकले आउनुपर्ने बाध्यता रहेको अभिभावक सुनमति कामीले बताइन् । 'हिउँदमा त खोला सानै हुन्छ ।'-उनले भनिन्-'वर्षाको समयमा छोराछोरी विद्यालय पठाउनै डर हुन्छ ।' खोलामा पुल नहुँदा छोराछोरी ठूला भएपछि मात्रै विद्यालय पठाउने गरेको उनले सुनाइन् । पुल निर्माणका लागि पटकपटक माग गरे पनि सो हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरिन् ।

धुलीगडा गाविसका प्राविधिक सहायक रमेशराज भट्टकाअनुसार गाउँ परिषद्समक्ष उक्त माग आएको बताए । 'माग आएपनि थोरै जनसङ्ख्या भएको भन्दै सुनुवाइ हुन सकेको थिएन ।'-उनले भने-'यस वर्षपुल निर्माणको लागि सर्वे गरिएको छ ।' सिप्टी गाविसको क्षेत्र भएपनि धुलीगडाबाट नै सबै सेवा प्रवाह भइरहेको पनि स्थानीयले बताए । यहाँका १०/१५ परिवारका बालबालिकाहरू स्वास्थ्य सेवा खोपलगायत सबै सेवा धुलीगडाबाट प्राप्त गर्ने भएकोले पुल निर्माणको लागि पहल भइरहेको भट्टले बताए ।

नेपालको संविधानले शिक्षालाई मौलिक हकअन्तर्गत राखे पनि यहाँका बालबालिका तुइनको कारण शिक्षाबाट वञ्चित भइरहेका छन् । यो अवस्थाको अन्त्य गराउनुपर्छ । बालबालिकाले पुल नहुँदा समयमै विद्यालयमा पढ्न जान पाएका छैनन् । गाउँका अधिकांश बालबालिकाहरू ठूलो उमेर पुगेको भन्दै पछि आएर विद्यालय जान नमान्ने गरेका छन् । पुल नहुँदा बालबालिकाको नियमित पढाइसमेत प्रभावित भएको छ । बालबालिकाले अकालमै तुइनमा ज्यान गुमाउँदा पनि राज्यले यस क्षेत्रको लागि अस्थायी पुलको व्यवस्था गर्न पनि नसक्नु लजास्पद छ । सरकारले बेलैमा पुल निर्माण गरेर बालबालिकालाई पढ्न पाउने वातावरण बनाउनु पर्छ । स्थानीय नागरिकको दैनिकीलाई जहज बनाउनु पर्छ ।

उनीसँगै तुइन तर्ने तयारी गर्दै थिए ११ वर्षीय देवसिंह ठगुन्ना । उनी कक्षा २ मा पढ्छन् । यहाँका सोही उमेर समूहका अधिकांश बालबालिकाहरू हाल कक्षा १, २ र ३ मा पढ्छन् । खोलामा तुइन नहुँदा उनीहरूले विद्यालय जाने बेला कापी किताबसँगै ताङ्लोसमेत बोक्नुपर्छ । तुइनमा नसक्नेलाई अभिभावकले नदी पार गराउँछन् । ठूलो उमेर तुइन तर्न सक्ने भएपछि मात्र अभिभावकले बालबालिका विद्यालय पठाउँछन् ।

photo20161004darchula photo20161004darchula1 photo20161004darchula2 photo20161004darchula3 photo20161004darchula4 photo20161004darchula5 photo20161004darchula6


नरेन्द्रसिंह कार्की