पुल नहुँदा जोखिम मोलेर नदी तर्दै स्थानीय

  ०७६ कात्तिक १२ गते

परशुराम नगरपालिकामा पर्ने रङ्गुन नदीमा पुल बन्ने भएपछि खुसी भएका बासिन्दाहरूको खुसी लामो समय रहेन ।

पाँच वर्ष अगाडि २०७१ असार १८ गते पुल निर्माणको ठेक्का सम्झौता हुँदा यहाँका स्थानीय निकै खुसी थिए ।

नदीले दिएको दुःख पुल बनेपछि हट्ने आशा बोकेका स्थानीय बासिन्दा पाँच वर्ष बितिसक्दा पनि पुल नबन्दा अहिले निराश भएका छन् ।

रङ्गुन नदीमा तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल पाँच वर्षसम्म पनि बन्न सकेको छैन । पुल नबन्दा यहाँका स्थानीय ज्यान जोखिममा राखेर नदी तर्ने गरेका छन् ।

पुल निर्माणको ठेक्का सम्झौता १८ असार २०७१ मा भएको थियो भने १७ असार २०७४ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख थियो ।

तर, तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल पाँच वर्ष पूरा भइसक्दासम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता
स्थानीय नागरिकहरू आफ्नो दैनिक काम काजको लागि जोखिम मोलेर रङ्गुन नदी तर्नुपर्ने बाध्यता रहेको छ ।

परशुराम नगरपालिकाको कटाल, रज्यौडा, शीर्ष, परिगाउँ, सिमल्टालगायतका गाउँका स्थानीयबासीले ज्यान जोखिममा राखेर नदी तर्नुपर्छ ।

विद्यालय जाने बालवालिका तथा दैनिक कामकाजका लागि जाने हरेक व्यक्तिले ज्यान जोखिममा राखेर नदी तर्नुपरेको स्थानीयको गुनासो छ ।

स्थानीय स्तरमा बैङ्किङ कारोबार, व्यापार, अस्पताल, नागरिकता बनाउन, सामाजिक सुरक्षा भक्ता तथा अन्य सामान्य कामका लागि समेत नदी तरेर आउने गरेको परशुराम नगरपालिकाका स्थानीय बासिन्दा बताउँछन् ।

सम्बन्धित निर्माण कम्पनीले तत्काल पुलको काम सक्नुपर्ने र आम जनतालाई भइरहेको दुःख बाट मुक्ति दिनुपर्ने स्थानीयबासिन्दा रामसिंह धामीले बताए ।

“राज्यले यो पुलको निर्माणको व्यवस्थापन गर्नुपर्छ । ठेकेदार कम्पनीले पनि छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ ।”–उनले भने–“नेपाल सरकारले पनि यसको निर्माण सम्पन्न गर भनेर ठेकेदार काम्पनीलाई कडा निर्देशन दिनुपर्छ ।”

मोटरेवल ब्रिज प्रविधिबाट निर्माण भइरहेको पुलको २ सय ५५ मिटर लम्बाई रहेको छ भने सुरूको बजेट लागत १२ करोड २८ लाख ८१ हजार २ सय ३१ रुपियाँ ५१ पैसा रहेको थियो ।

पटक–पटक सम्झौता थप्दै गरेको भएपनि थपेको समय समेत सकिँदा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन ।

ठेकेदार ‘मेयर’ बने, पुल बनेन
सडक डिभिजन कार्यालय कुलपाते अन्तर्गत रङ्गुन नदीमा निर्माणाधीन पुल निर्माणको ठेक्का पप्पु–राजेन्द्र–कुमार जेभी कम्पनीले गरिरहेको छ ।

जुन कम्पनी डडेल्धुरा जिल्लाकै परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदको हो । नगरप्रमुख साउदले आफ्नै नगरपालिकामा रहेको नदीमा पुल निर्माणको जिम्मा लिए ।

काम सम्पन्न नगर्दै उनी स्थानीय तहको निर्वाचनबाट त्यही नगरपालिकामा नगरप्रमुख पनि भए, तर उनले निर्माणको जिम्मा लिएको पुलको काम भने अहिलेसम्म सम्पन्न भएको छैन ।

पुल निर्माण गर्ने सम्झौताको म्याद गुज्रिँदासमेत पुलको निर्माण सम्पन्न नभएपछि स्थानीय आक्रोशित भएका छन् ।

तर, नगरप्रमुख नै ठेकेदार रहेकाले उनीविरूद्ध यहाँका स्थानीय खुलेर बोल्नसमेत नसकिरहेको स्थानीय सन्तोष कार्कीले बताए ।

पाँच वर्षमा १२ जनाको मृत्यु
डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने महाकाली, रङ्गुन, पुन्तुरा र सादनी खोलाले बगाउँदा अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको छ ।

२०७१ सालदेखि हालसम्म यी नदी र खोलाहरूले बगाउँदा सात जना पुरूष र पाँच जना महिला गरी १२ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दधीराम न्यौपानेले बताए ।

प्राकृतिक प्रकोपको दृष्टिले अति संवेदनशील डडेल्धुराको भित्री मधेसमा बर्सेनि २÷३ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ ।

यहाँ रहेका रङ्गुन नदी, पुन्तुरा खोला र सादनी खोला तर्ने पुल नहुँदा यस क्षेत्रका नागरिकले जोखिम मोलेर नदी तथा खोला पार गर्दै आएका छन् ।

दैनिक कामकाजका लागि जोखिम मोलेर नदी तर्नुपर्ने यहाँका नागरिकको बाध्यता छ । परशुराम नगरपालिकाका परिगाउँ, रज्यौडा, सिमल्टा, कटाल, शीर्ष, सादनी, करालीलगायतका बासिन्दाले ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता छ ।

सरकारी कामकाज, बैङ्किङ कारोबार, व्यापार, अस्पताल जाँदा समेत नदी तरेर जोगबुढा आउने गरेको परशुराम नगरपालिका–६ करालीका स्थानीय भूपेन्द्र धामीले बताए ।

यस्तै, सादनी र पुन्तुरा खोलमा पुल नहुँदा वर्षातको समयमा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ ।

वर्षातको समयमा यस क्षेत्रका विद्यार्थीहरू जोखिम मोलेर नदी तरेर विद्यालय जान बाध्य छन् । जनतालाई सहज रूपमा ओहोरदोहोर गर्न र सडक यातायातलाई नियमित सञ्चालनका लागि मोटरेवल पुल निर्माणका लागि सरकारले लागनी गरेपनि सम्बन्धित निर्माण कम्पनीले गरेको लापरवाहीका कारण यहाँका नागरिकले राज्यको आभास पाउन नसकेको गुनासो गर्दै आएका छन् ।


भूपेन्द्र विष्ट