पुर्व सभामुख महराविरूद्ध अदालतमा मुद्दा दायर

  ०७६ कात्तिक १४ गते

बलात्कार प्रयास आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले महराविरूद्ध संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

बलात्कार प्रयास गरेको आरोपमा महरालाई गत असोज १८ गते गिरफ्तार गरिएको भएपनि अनुसनन्धान प्रक्रिया लम्बिएपछि २६ दिनपछि मात्र उनीविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

सरकारी वकिल कार्यालयले महराविरूद्ध मु्लुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसूर गरेको अभियोगको माग दावी गरेको  जिल्ला सहन्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए ।

महराले सङ्घीय संसदको सभामुख ओहोदाको दुरूपयोग गरी कसूर गरेकाले उनीविरूद्ध फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को (ङ) बमोजिम थप सजाय पनि माग गरिएको सहन्यायाधिवक्ता खनालले बताए ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । त्यसकै दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई आधा मात्र सजाय हुने व्यवस्था छ ।

उक्त व्यवस्थाअनुसार कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद, ओहोदामा बहाल रहेको अवस्थामा पदको दुरूपयोग गरी कसूर गरेमा डेढ गुणा बढी सजाय हुने उल्लेख गरिएको छ ।

यो मागदावी अनुसार फैसला भएमा महरालाई ५ वर्षदेखि साढे ७ वर्षसम्म कैद सजाय हुन सक्नेछ ।


विमला पौडेल