पुनर्स्थापना कार्यक्रम प्रभावकारी नभएको मुक्त हलियाहरूको गुनासो

  ०७६ भदौ २६ गते

कञ्चनपुर जिल्लामा मुक्त हलिया पुनर्स्थापना कार्यक्रम प्रभावकारी नभएको मुक्त हलियाहरूले गुनासो गरेका छन् ।

सरकारले मुक्त हलियाका लागि निर्माण गरेका घरमा उनीहरू नबसेपछि अधिकांश घरहरू खाली रहेका छन् ।

Photo20190912Kanchanpur (1)

वेदकोट नगरपालिका-८ गाउजीमा ६ वर्षअघि मुक्त हलिया पुनर्स्थापना कार्यक्रम अन्तर्गत निर्माण गरिएका १९ घरहरूमध्ये अधिकांश घर खाली रहेका छन् ।

मुक्त हलियाहरूलाई पुर्वाधार अभाव तथा दुर्गम क्षेत्रमा सरकारले आवास निर्माण गरेका कारण जिविकोपार्जनको उपाय केही नभएको भन्दै उनीहरूले त्यहाँ बस्न मानेका छैनन् ।

पुनर्स्थापनाका क्रममा आवास पाएका करवीर लुहारले दुर्गम क्षेत्रमा आवास बनाइएकाले धेरैजसो मुक्त हलिया बस्न नचाहेको बताए ।

Photo20190912Kanchanpur (2)

'यहाँ घर बनेदेखि कोही पनि बस्न आएनन् ।'-मुक्त हलिया करवीरले भने-'हामी चार परिवार सुरूदेखि बसेका हौँ । अहिले पनि त्यति नै छौँ ।'

उनका अनुसार गाउँमा रोजगारी नपाइने भएकाले अधिकांश मुक्त हलियाहरू परिवार मजदुरी गर्न महेन्द्रनगर बजारमै घर छाप्रा बनाएर बसोबास गरिरहेका छन् ।

मुक्त हलिया रमेश लुहारले आफूले आवास पाएको भए पनि परिवारको जिविकोर्पाजन गर्ने उपाय नभएपछि घर छाडेर रोजगारी कै लागि भीमदत्त नगरपालिका-३ भासीमा छाप्रो बनाएर बस्दै आएको र महेन्द्रनगर बजारमा ज्यालादारी काम गरेर जिविकोपार्जन गरिरहेको बताए ।

पुर्वाधार अभाव तथा दुर्गम क्षेत्रमा सरकारले आवास निर्माण गरिदिएका कारण रोजगारी समस्या उत्पन्न भएकोले पुनर्स्थापना कार्यक्रम प्रभावकारी हुन नसकेको मुक्त हलिया समाज, कञ्चनपुरका अध्यक्ष शिवि लुहारले बताए ।

बेदकोट नगरपालिका उपप्रमुख सुशीला सिंहले रोजगारीको अबस्था विश्लेषण नगरी आवास निर्माण गरेका कारण समस्या आएको बताइन् ।

उनले मुक्त हलियाहरूको व्यवस्थापनको लागि बेदकोट नगरपालिकाले समेत कार्यक्रम ल्याएर निर्माण भएका पुर्वाधारहरूलाई प्रयोग हुने किसिमको वातावरण निर्माण गर्ने बताइन् ।

सरकारले घर र जमीन नभएका मुक्त हलिया परिवारलाई 'क' वर्गमा राखेर तिनीहरूको पुनर्स्थापनका लागि ०७० सालमा घर जमीन खरिद गरी घर निर्माणका लागि प्रतिपरिवार २ लाख २५ हजार रुपियाँ उपलब्ध गराएको थियो  ।


कोमलनिरन्जन भाट