पुनःसंरचनाप्रति असन्तुष्टी जनाउँदै आन्दोलन, झडपमा १६ जना घाइते

  ०७३ माघ ७ गते

स्थानीय निकाय पुनर्संरचना आयोगले सरकारलाई बुझाएको पुनर्संरचना प्रतिवेदनमा जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरे अनुसार गाउँपालिका नै गायव बनाएको भन्दै चार ओटा गाविसमा आन्दोलनरत स्थानीयले माघ ७ गते सदरमुका विदुरमा रहेको जिल्ला विकास समितिको कार्यालयमा आक्रमण गरी तोडफोड गरेका छन् ।

जिल्ला प्राविधिक सहयोग समितिले चौघडा, थानसिङ, सुर्यमति र खानीगाउँ गाविसलाई लिखु गाउँपालिका सिफारिस गरी पठाएकोमा आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा लिखु गाउँपालिकाको नाम नै हटेर, यो गाउँपालिकामा परेका गाविसहरूलाई वरपरको अन्य चार गाउँपालिकामा मिलाएको विरोधमा चारै गाविसमा स्थानीय माघ २ गतेदेखि विभिन्न आन्दोलन गरिरहेका छन् । आआफ्नो गाविस बन्द गरिरहेका स्थानीय आज विदुरमा आएर जिल्ला विकास समितिमा तोडफोड गरेका हुन् ।

photo20170120nukot (1)

नाराबाजी गर्दै आएका आन्दोलनकारीले जिविसको कार्यालयमा प्रवेश गरी तोडफोड गर्दा थोरै सङ्ख्यामा रहेका प्रहरीले उनीहरूलाई नियन्त्रण गर्न अर्समर्थ भएका थिए ।

प्रदर्शनकारीले जिल्ला विकास समितको मूलढोका नै तोडफोड गरेर आक्रमणमा उत्रिएपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन २२ राउण्ड अश्रुग्याँस प्रहार र १२ थान रबर बुलेट प्रहार गरेको छ ।

आक्रमणमा सई लेखनाथ आचार्यसहित १५ जना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीतेन्द्र बस्नेतले बताए । घाइतेहरूको प्राथमिक उपचार नेपाल रेडक्रास सोसाइटी जिल्ला शाखाका स्वास्थ्यकर्मीको टोलीले घटनास्थलमै गरेको थियो ।

आन्दोलनकारीतर्फ नेपाली काङ्ग्रेस थानसिङका सभापति विनोद पाठकको तिघ्रामा रबरको गोली लागेर घाइते भएका छन् ।

photo20170120nukot (2)

आन्दोलनकारीहरूले बा १ झ ७२४७ र  बा १ झ ९७५४ नम्वरको गाडी तोडफोड गरी लाखौँको क्षति पुर्‍याएका छन् भने स्थानीय विकास अधिकारी, लेखा अधिकृत, योजना अधिकृत तथा आन्तरिक लेखा परीक्षण कार्यकक्ष, सेवाग्राही प्रतिक्षालय, वैठक कक्षमा तोडफोड गरेका छन् ।

अन्देलनकारीले दुई ओटा भवनका ५५ ओटा झ्यालका सिसा फुटाइएको र दर्जनौँ टेवुल, दराज, सोफा, कुर्सी तेडफोड गरेको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताए ।

प्रदर्शनकारीले विदुरचोकमा आफू चढेर आएको बसलगायतका सवारीसाधन तेर्स्याएर राखेपछि एक घण्टा सडक अवरुद्ध भएको थियो ।

प्रहरी र प्रदर्शनकारीबिच भएको झडपका समयमा प्रहरीको लाठी लागेर रेडियो जालपाका स्टेशन मेनेजर जगदीश खनाल, टिभी त्रिशूलीका सम्वाददाता नमराज सुवेदी, कान्तिपुरका सम्वाददाता कृष्ण थापा घाइते भएका छन् ।

जिल्ला विकास समितिमा आक्रमणपछि कर्मचारीहरूको बैठकले भोलिदेखि अत्यावश्यक काम बाहेक अरु काम नगर्ने निर्णय गरेका छन् । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितको अध्यक्षतामा बसेको बैठकले नुवाकोटका राजनीतिक दलहरूले घटनाको जिम्मा लिँदै माफी माग्नु पर्ने माग गरेका छन् ।


नवदीप श्रेष्ठ