पीडित स्वायम् बनिन् हिंसा पीडितका परामर्शकर्ता

  ०७६ कात्तिक १९ गते

करिब तीन वर्ष पहिले महिला हिंसामा परी पीडित भएकी दोलखाकी स्वस्तिका थापाले सामजिक क्षेत्रमा सकृय रूपमा लाग्छु भन्ने कल्पनासम्म पनि गरेकी थिइनन् । कुनै बेला महिला हिंसाबाट पीडित भएकी थापा सामान्य अवस्थामा आएर यसरी सामाजिक क्षेत्रमा लागेको ६ महिना भएको बताउँछिन् ।

आफूलाई परेको पीडाको भोगाइका कारण नै उनी हिंसाबाट पीडित भएका महिलाहरूलाई सहयोग गर्दै उनीहरूलाई न्यायिक पहुँचसम्म पुर्‍याउन मद्दत गर्नेमा लागिरेको बतउँछिन् । तीन महिनादेखि हिंसा प्रभावितहरूका लागि कानुनी परामर्शसम्बन्धी तालिम नै लिएर अहिले माहानगरीय प्रहरी परिसर कालिमाटीको महिला तथा बालबालिका सेवा केन्द्रमा उनी कार्यरत छिन् ।

कुनै समयमा प्रहरी भनेपछि तर्सने थापा आज आफैँ प्रहरीहरूसँगको समन्वयमा पीडितको न्यायका लागि कार्यरत रहेको बताउँछिन् ।

हाल काठमाडौँको बानेश्वरमा बस्दै आएकी थापा अहिले महानगरीय प्रहरी परिसर कालिमाटीको महिला तथा बालबालिका सेवा केन्द्रमा आउने हिंसा प्रभावितहरूको सहयोगका लागि कार्यरत रहेको बताउँछिन् ।

विभिन्न घटनामा पीडित भएका महिलाहरू प्रहरीमा आएपछि उनीहरूलाई कानुनी सेवा दिनु उनको काम हो । प्रहरीमा आएपछि पनि सुरूमै आफ्नो समस्या भन्न अन्कनाउने पीडितहरूलाई परामर्श दिँदै गएपछि विस्तारै पीडितहरू खुल्ने गरेको बताउँदै थापाले भनिन्–‘सुरूमा पीडितहरू प्रहरीदेखि नै डराउँछन् । प्रहरीसँग मनको कुरा खोल्दैनन् । विस्तारै सम्झाउनुपर्छ । उनीहरू बल्ल खुल्न थाल्छन् ।’

कतिपय पीडितहरूले सुरूमा आफूलाई पनि प्रहरी ठानेर घटनाबारे भन्नै डराउने गरेको उनको अनुभव छ । प्रष्ट नखुल्ने पीडितहरू समक्ष परामर्श दिँदै गर्दा कुनैबेला आफू पनि पीडित भएको कुरा सुनाउँदै उनीहरूलाई आफ्ना कुरा राख्न अझ सहज वातावरण बनाइदिने गरेको थापा बताउँछिन् ।

काठमाडौँको सबैभन्दा बढी उजुरी पर्ने कालिमाटी वृत्तमा रहेकी उनीसँग उनी जस्तै अर्की एकजाना साथी किरण घर्ती छिन् । उनीहरू दुवै जना मिलेर पीडितका लागि सक्दो काम गर्ने गरेको बताउँछन् । तालिम लिएको तीन महिना भएपनि यस क्षेत्रमा उनी एक वर्षदेखि कार्यरत हरेको बताउँदै एक वर्षको अवधिमा घरेलु हिंसा र साइवर अपराधसम्बन्धीका धेरै घटनाका प्रभावितहरूलाई कानुनी परामर्शदेखि उजुरी दर्ताका प्रक्रियामा सहयोग गर्न सफल भएको उनको दावी छ ।

यसरी थापालगायत उपत्यकामा खटिएका ३० जना स्वयम्सेवीमध्ये काठमाडौँ प्रहरीका १४ ओटा वृत्त कार्यालय र परिसरमा थापा जस्तै विभिन्न घटनाका पीडित १८ जना स्वयम्सेवीहरू खटिएका छन् ।

उपत्यकामा हिंसाबाट प्रभावित महिला तथा बालबालिकालाई न्यायमा पहुँच बढाउन पनि महिला स्वयम्सेवीद्वारा कानुनी सहायता कार्यक्रम थालिएको हो । उनीहरूले एक वर्षसम्म विभिन्न वृत्त तथा परिसरमा रहेर काम गर्ने गरी सम्झौता समेत भइसकेको र यसरी सम्झौता गरेर काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी ३० जना स्वयम्सेवीहरूलाई खटाइएको छ ।

अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सहज हुने भएकाले प्रहरीले यसरी समुदायबाट नै सहभागी गराउन थालेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।  समुदायकै व्यक्ति त्यसमा पनि पीडित पक्षलाई नै यस्ता कार्यमा संलग्न गराउँदा उनीहरूको कामबाट पीडितहरू सहज रूपमा खुल्ने र प्रहरीले पनि समुदायबाट धेरै ज्ञान हासिल गर्ने भएकाले आपसी सहयोग आदानप्रदान हुने पनि एसएसपी सुवेदीको धारणा छ ।


विमला पौडेल