पीडितलाई पुनःस्थापनाको लागि इन्सेकद्वारा सहयोग

   ०७७ असार ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले १३ वर्षीया सुत्केरी बालिकालाई पुनःस्थापना गर्न १० हजार रुपियाँको आर्थिक सहयोग गरेको छ ।

०७६ कत्तिक १० गते भएको बलात्कार घटनापछि गर्भवती भएकी बालिकाले जेठ २७ गते भरतपुरमा शिशुलाई जन्म दिएकी थिइन् ।

हाड नाता बलात्कारबाट जन्मेको शिशुलाई गाउँलेहरूले घरमा जान नदिएपछि १० दिनकी सुत्केरी बालिका र आमा बेसीशहर नगरपालिका– ८ स्थित बजारको एउटा घरको डेरामा बस्दै आइरहेको पीडितकी आमाले बताउनुभयाे ।

गाउँलेहरूले घरमा जान रोक लगाएपछि इन्सेक जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीले सुत्केरी बालिकालाई खान र बस्नको व्यवस्था मिलाउन सहयोग गर्नुभएको थियो । उक्त सहयोग प्राप्त गरेपछि पीडितकी आमा खुशी हुँदै इन्सेकलाई धन्यवाद  दिनुभएको छ ।

पीडितलाई  इन्सेकले सहयोग गरेपछि लमजुङ उद्याेग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापाले पनि संस्थागत रूपमा ५ हजार रुपियाँ सहयोग गरिने बताउनुभयो । उहाँले बालिकाको अवस्था हेर्दा सहयोग नगरी बस्न नसकेको बताउनुभयो ।


दलबहादुर मजाकोटी