पाल्पा जिल्ला अस्पतालमा १२ महिना नै खानेपानी अभाव

  ०७६ कात्तिक ११ गते

पाल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढेसँगै सही व्यवस्थापन हुन नसक्दा बाह्रै महिना खानेपानीको अभाव हुने गरेको छ ।

नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अन्य अस्पतालमा उपचार गराउन जानकै लागि पनि जिल्ला अस्पतालको रिफर अनिवार्य भएपछि यहाँ बिरामीको चाप बढेको छ ।

उपचारका लागि अस्पतालमा आइपुगेका रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीका ओमबहादुर कुमालले आफू उपचारका लागि महिनै पिच्छे यो अस्पतालमा आउने गरेको र खानेपानीको समस्या रहेको तथा शौचालयको धारामा समेत पानी नआएको गुनासो गरे ।

सदरमुकाम तानसेनमा खानेपानी समस्या सदावहार नै हो । यहाँ वर्षात्को समयमा तीन दिन बिराएर र हिउँदको समयमा ८ दिन बिराएर बढीमा २ घण्टा पानी आउँछ ।

२ घण्टाको अवधिमा २ हजार लिटरसम्म पानी आएपनि अस्पतालका लागि उक्त पानी पर्याप्त नभएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पुष्प ज्ञवालीले बताए ।

अस्पतालमा दैनिक १ हजारसम्म बिरामी आउने र उनीहरूका लागि पिउने पानी र शौचालयका लागि समेत पानी अभाव भएपछि ट्याङ्करबाट पानी किनेर ल्याइएपनि पर्याप्त हुन नसकेको उनले बताए ।

‘बिरामीहरूले पानी खान समेत पाइएन भनेर गुनासो गरिरहनुहुन्छ हामीले यसबारे अस्पताल व्यवस्थापन समितिलाई जानकारी गराएको भएपनि खास सम्बोधन हुन सकेको छैन ।’–उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालयको नाममा रहेका तीन ओटा धारा अस्पतालले प्रयोग गरेको देखिएपनि दुई ओटा धाराको पानी डाक्टरको निवासमा जाने र एउटा मात्रै धाराको पानी अस्पतालमा जाने गरेको छ ।

अस्पताल केही उच्च स्थानमा रहेकोले पनि पानीको फोर्स कम भई कम पानी अस्पतालमा जाने गरेको पाइएको छ ।

अस्पताल बिकास समितिले खानेपानी तथा शौचालयमा पानी पर्याप्त पु¥याउन सकेको छैन । पर्याप्त शौचालय समेत छैनन् ।

अस्पताल विकास समितिको खातामा अहिले ८० लाख रुपियाँभन्दा बढी रकम रहेपनि अस्पतालमा पानी अभाव छ ।

समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले पाल्पाका लागि खानेपानी समस्या पुरानो भएको बताए ।

उनले केही हदसम्म ट्याङ्करबाट पानी ल्याइएको भएपनि पर्याप्त भने नभएको बताए । यसबारे समितिको बैठक बसेर तत्काल निर्णय गर्ने उनको भनाई छ ।

सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिरामीले आफूले इच्छ्याएको अस्पतालमा जानुअघि जिल्ला अस्पतालबाट रिफर ल्याउन अनिवार्य नियम भएपछि जिल्ला अस्पतालमा बिरामीको चाप बढेको हो ।


यज्ञमूर्ति तिमिल्सिना