पारिश्रमिक दिने कबोल मिति गुज्रिएको विरोधमा कामदारद्धारा काममा अवरोध

  ०७६ पुस २९

निर्माण कम्पनीले कबोल गरेको मितिमा पारिश्रमिक नदिएपछि मजदूरले निर्माण कार्यमा प्रयोग हुने यन्त्र उपकरणको चाँबी नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा ०७६ पुस २० गते निर्माण कम्पनी र मजदूरबीच भएको सहमति बमोजिम पारिश्रमिक नपाएपछि खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रे गर्ने कामदारले चाँबी पुस २५ गते इलाका प्रहरी कार्यालय बुईपामा बुझाएका हुन् ।

निर्माणमा प्रयोग हुने यन्त्र उपकरणको चाँबी बुझाएपछि सडक निर्माण कार्य रोकिएको छ ।

गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार सडकखण्ड अन्तरगत कालोपत्रेका लागि खटाईएका कामदारहरूले पारिश्रामिक नपाएको विरोधमा काम अवरूद्ध गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा दुई महिनाअघि भएको छलफलमा निर्माण कम्पनी भारत कन्ट्रक्सन सिद्धी शाही जेभीका प्रतिनिधिले ०७६ पुस २० गतेसम्ममा पारिश्रमिक भुक्तानी गर्ने कागज गरेको भए पनि सम्झौता अनुसारको भुक्तानी नदिएको कामदारहरूको भनाइ छ ।

काम सुरू गरेदेखि कै पारिश्रामिक नपाएको मजदूरले बताएका छन् ।

महुरेदेखि सिमपानी (राजापानी) सम्मको सडक कालोपत्रेको काम अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायले बताउनुभयो । ठेकेदार कम्पनीले वर्षौँसम्म पारिश्रमिक नदिएर झुलाएपछि कार्यरत कामदारले काम अवरूद्ध पारेको प्रजिअ उपाध्यायले बताउनुभयो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३, नुनथला, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका कामदारको विजयखर्कको मालामा ०७६ पुस २१ गते भएको भेलाले काममा अवरोध सिर्जना गर्ने निर्णय गरेको  दिनेश राईले बताउनुभयो ।
आक्रोशित कामदारले निर्माण कम्पनीको ६ ओटा ट्रिपर, १ ओटा पानी ट्यांकर, २ ओटा स्काभेटर, १ ओटा बोलेरो र १ ओटा व्याकहोलोडरको चाँबी नियन्त्रणमा लिएर प्रहरी चौकी बुइपालाई बुझाएको प्रशासनले जनाएको छ ।
Photo202020114Khotang (1)

Photo202020114Khotang (2)

 


  रामधन राई