पारदर्शिताको माग गर्दै उपमहानगरपालिकाको बोर्ड बैठकमा कुर्सी तोडफोड

  ०७७ असार १० गते

जनकपुरधाम उपमहानगरपालिकाको योजना तर्जुमा बैठकमा असन्तुष्ट वडा अध्यक्षहरूले पारदर्शिताको माग गर्दै असार ८ गते साँझ एक दर्जन भन्दा बढी कुर्सी तोडफोड तथा बैठक पुस्तिका च्याति दिएको नगर उपप्रमुख रीता मिश्रले बताउनु भएको छ ।

photo20200624dhanusha

बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उप्रमुख मिश्रलगायत २० जना वडा अध्यक्ष र पाँच जना असन्तुष्ट वडा अध्यक्षहरू बिच नगरको योजना र खर्चको हिसाब किताब पारदर्शिताको सवालमा विवाद भएको वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र साहले बताउनु भयो ।

नगर प्रमुख साहले योजना तर्जुमाको लागि  बैठक पुस्तिकामा हस्ताक्षर गर्न लगाउन थालेको भन्दै वडा नं. ७ का वडा अध्यक्ष जानकीराम साहले पुस्तिका च्यातेका हुन् । आफूहरूलाई योजना तर्जुमाबारे २४ घण्टा पहिले नै जानकारीका साथ अध्ययनको लागि प्रतिवेदन दिनुपर्नेमा त्यसो नगरी एक्कासी हस्ताक्षर गर्न लगाउन थालेपछि आफूले विरोध गर्दै बैठक पुस्तिका च्यातेको वडाध्यक्ष जानकीराम साहले बताउनु भयो ।

जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको बैठक सञ्चालनसम्बन्धी कार्यविधिको १२ नम्बर बुँदाको १ मा उल्लेख भए अनुसार २४ घण्टा पहिले जानकारीसहित अध्ययनका लागि प्रतिवेदन दिनु पर्ने उल्लेख छ । तर, नीति तथा कार्यक्रम अध्ययन गर्न नै नदिएर सिधै बोर्ड बैठकमा उपलब्ध गराइएकोले आफुहरूले अलोकतान्त्रिक विधिको विरोध गरेको वडा नं. ४ का वडा अध्यक्ष सुदर्शन सिंहले बताउनु भयो ।

वडा नं ७ का अध्यक्ष जानकीराम साहले बैठक पुस्तिका च्यातेपछि असन्तुष्ट वडा अध्यक्षहरूलाई प्रहरी बोलाएर उपमहानगरपालिकाको मुख्य गेटमा ताला लगाएर भित्र थुनेको वडा नं. ९ का अध्यक्ष परमेश्वर साहले बताउनु भयो । तर, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले उपमहानगरपालिकामा चर्को विवादका बिच झडपको सम्भावना भएपछि प्रहरी पुगेर सम्झाउन खोजेको बताउनु भयो ।

उपमहानगरपालिकाकी उपप्रमुख रीता मिश्रले बोर्डको बैठक सुरू हुनै नदिएर वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले बैठक पुस्तिका च्यात्नु, बैठक कोठाको कुर्सी तोडफोड गर्ने र होहल्ला गरी बैठक भाड्ने लगायतको कार्य गरेको आरोप लगाउनु भयो ।

उहाँले बैठक सुरू भएपछि सम्पूर्ण हिसाब–किताब सबै कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरूलाई उपलब्ध गराउने योजना रहेको भएपनि बैठक सुरू हुन नदिएर वडा अध्यक्षहरूले गैर जिम्मेवारीपूर्ण क्रियाकलाप गरेकोले अदालतमा मुद्धा गर्ने बताउनु भयो ।

प्रमुख साह र उपप्रमुख मिश्रविरुद्ध नगरका योजनाहरूको बजेट  पारदर्शी नभएको, आफ्नो नजिकका व्यक्तिहरूलाई कमिसनमा योजना बाँढ्दै आएको र आफुहरूलाई नीति तथा कार्यक्रम तर्जुमाबारेमा अध्ययन गर्न प्रतिवेदन नदिएको भन्दै असन्तुष्ट वडाध्यक्षहरूले कार्यपालिका बैठकमा योजना र बजेटको पारदर्शिताको माग गरेका हुन् ।

वडा नं. ७ का अध्यक्ष जानकीराम साह, वडा नं ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नं १० का अध्यक्ष मिथिलेश कर्ण, वडा नं ९ का अध्यक्ष परमेश्वर साह, वडा नं ३ का अध्यक्ष दिपेन्द्र साह लगायतले असार ९ गते विहान १० बजेदेखि कार्यालयको मुख्य गेटमै धर्ना बस्दै असार ९ गते र १० गते बोलाइएको नगरपरिषद बैठक स्थगित भएको छ ।


दीपेन्द्रप्रसाद सिंह