पाँच महिनादेखि वडाध्यक्ष विहिन हुँदा स्थानीयलाई सास्ती

  ०७७ चैत १२ गते

जगन्नाथ गाउँपालिका–४ का वडाध्यक्ष पवनबहादुर भण्डारी पाँच महिनादेखि वडा कार्यालयमा नआएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती भोग्नु परेको छ ।

परिवार भेटघाट गर्ने भनेर गत मङ्सिर महिनामा कैलाली जिल्ला गएका वडाध्यक्ष भण्डारी नफर्किएपछि जन्म दर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिस लगायतका सेवा लिन सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।

वडाध्यक्ष भण्डारी पाँच महिनादेखि जिल्ला बाहिर रहदा वडा कार्यालबाट प्रदान गरिने सेवा सुविधाबाट आफूहरु वन्चित रहनु परेको स्थानीय उमेश भण्डारीले दुखेसो पोख्नु भयो ।

कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पाएका वडा सदस्य नरी वुढा पनि नियमित वडा कार्यालयमा नआएपछि स्थानीयहरुले थप समस्या झेल्नु परेको छ ।

कार्यवाहक अध्यक्ष पनि नियमित कार्यालय नआउने गरेका कारण सेवाग्राहीहरुले वुढाको घरमा पुगेर सेवा लिनु पर्ने बाध्यता रहेको स्थानीय निर्प भण्डारीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘कार्यवाहक अध्यक्षको घर सिवाडामा पर्छ । निमार्ण सम्पन्न मन्दिरको सिफारिस लिन उहाँको घरमै पुगे । असक्त, असाहय र महिलाहरुलाई त सेवा पाउन झनै समस्या भएको छ ।’

वडा कार्यालयबाट सामान्य सिफारिस लिन आएका सेवाग्राहीहरुले दस्तखत गराउन र छाप लगाउन कार्यवाहक अध्यक्षकै घर धाउनु परेको स्थानीयहरुको गुनासो छ ।

कार्यवाहक वडाध्यक्ष वुढाको घर जगन्नाथ गाउँपालिका वडा नम्बर ३ को सिम भन्ने ठाउँमा रहेको र उहाँको घरसम्म पुग्न एक घण्टा भन्दा बढी समय लाग्ने गरेको स्थानीय प्रयाग धरालाले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो–‘नागरिकताको सिफारिसका लागि बृद्ध बुवालाई लिएकर वडा कार्यालय आए । तर, कार्यलयमा वडाध्यक्ष नभएपछि सिफारिसका लागि एक घण्टा हिडेर कार्यवाहक अध्यक्षको घरमा पुगेर सिफारिसमा दस्तखत गराएर फर्किए ।’

कार्यवाहक वडाध्यक्ष वुढाले बिभिन्न कारणले गर्दा आफू नियमित कार्यलयमा बस्न नसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘तीन महिनाका लागि मात्र कार्यवाहक अध्यक्षको जिम्मा लिएको हु । यति लामो समयसम्म जिम्मा लिन सकिदैन । वडाध्यक्ष भण्डारीसँग सम्पर्क गर्दा हुन सकेको छैन् । उहाँले फोन पनि उठाउनु हुन्न् ।’

जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले वडाध्यक्ष भण्डारी सम्र्पक विहिन हुँदा सेवाग्राहीलाई सास्ती भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘तीन महिनादेखि वडाध्यक्ष सम्पर्कमा आउनु भएको छैन् । वडाध्यक्ष पुर्ती गर्न उहाँले राजिनामा दिएको हुनु पर्छ । राजिनामा पनि दिनु भएको छैन् । गाउँकार्यपालिकाको वैठकबाट विकल्प खोज्ने तयारीमा छु ।’

जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैह्रेले पनि वडाध्यक्ष भण्डारी सम्पर्क विहिन भएको बताउँदै जिल्ला बाहिर जाने समयमा पनि आफूहरुलाई जानकारी नगराएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पाँच महिना बितिसक्दा पनि सम्पर्कमा आउनु भएको छैन् । कता किन जानु भएको हो गाउँपालिकालाई कुनै जानकारी छैन् ।’


पदमबहादुर सिंह