पाँच महिनादेखि दन्त सेवा बन्द भिडियो एक्सरे र शल्यक्रिया ठप्प

  ०७६ फागुन २१ गते

जिल्ला अस्पताल जाजरकोटमा कार्यरत डा. निशा बुढामगर पाँच महिनादेखि अस्पतालमा नहुँदा दन्त सेवा ठप्प भएको छ ।

अस्पतालमा दन्त चिकित्सक बुढा बाहेक दन्त सेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उनी सुत्केरी विदामा बसेपछि सेवा नै ठप्प हुन पुगेको हो ।

उपचारका लागि आउने बिरामी उपचार नपाएर फर्कने गरेका छन् । उपचार नपाउँदा बिरामीहरू जिल्ला बाहिर जान बाध्य भएका छन् ।

सामान्य खालका अप्रेशन गर्ने, शल्यक्रियासहितको प्रसुति सेवा दिने भन्दै गतवर्ष अस्पताल आएका एमडिजीपी डा. महेश सिलवाल केही समय अघि जिल्ला छोडेर गएपछि शल्यक्रियाका सबै सेवा बन्द भएका छन् । स्वास्थ्य मन्त्रालयको छात्रवृत्ति कोटामा दुई वर्षका लागि करारमा नियुक्त भएर आएका डा.सिलवाल एक वर्ष बिताएर फर्किएका हुन् ।

अस्पतालमा आवश्यक पूर्वाधार नभएको, वेहोस बनाउने एन्थेसिया स्वास्थ्यकर्मी नभएपछि दिक्क भएर आफू फर्किएको उनले बताए । सात जना विशेषज्ञ चिकित्सकसहित ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा १८ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् ।

छात्रवृत्ति करार सेवामा कार्यरत मेडिकल अधिकृतहरूले दुई वर्ष अघिको अतिरिक्त सेवाको भत्ता नपाएपछि काम गर्ने वातावरण नभएको बताएका छन् । छात्रवृत्ति करार सेवामा चार जना डाक्टर कार्यरत छन् ।

लामो समयदेखि काम गरेको अतिरिक्त भत्ता नपाएपछि भिडियो एक्सरे सेवा बन्द गरेको डा. भुपेन्द्रप्रकाश मल्लले बताउनु भयो । ल्याव सेवामा पनि स्वास्थ्यकर्मी नहुँदा बन्द छ । अस्पताल विकास समितिबाट पाउनु पर्ने अतिरिक्त समय काम गरेको भत्ता नपाउँदासम्म विरोध स्वरुप आफूहरूले भिडियो एक्सरे सेवा नदिने निर्णय गरेको डा. मल्लले बताउनु भयो । यसरी विस्तारै धेरै सेवा बन्द हुँदै गएपछि सेवाग्राही मर्कामा परेका छन् ।

अस्पतालमा कार्यरत अति न्यून सङ्ख्याका स्वास्थ्यकर्मी पनि उपकरण पूर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य चेकजाँच गरेर औषधि दिने र रेफर गर्ने बाहेक अन्य सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टिकाराम जैसीले अस्पतालको सेवा अस्त व्यस्त भएको स्वीकार गरे । विशेषज्ञ चिकित्सकको पदपूर्ती हुँदैन । अन्य स्वास्थ्यकर्मी पनि रित्तिदै गएका छन् । नयाँ पदपूर्ती हुँदैन । कसरी सेवा प्रभावकारी बनाउने उनले भने ‘करीव पाँच लाख रुपियाँ डाक्टरले अतिरिक्त काम गरेकै दिन बाँकी छ । उहाँहरूले भिडियो एक्सरे सेवा बन्द गरेर असन्तुष्टि जनाउनु भएको छ । कसरी समाधान गर्ने ।’

चार वर्ष अघि १५ शैयाबाट ५० शैया बनाइएको जाजरकोट अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, वेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात जना विशेषज्ञ, तीन जना मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ । त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त रहेका छन् । स्टाफ नर्स आठ मध्ये सात पद रिक्त छन् । पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याव असिष्टेन्ट र अहेव तीन जनाको दरबन्दीमा तीनै जना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीले बताए । उनले पदपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरेपनि सुनुवाई हुन नसकेको गुनासो गरे ।

अस्पतालमा भरपर्दो सेवाप्रवाह हुन नसकेपछि एक महिनाको अवधिमा एक जना पनि विरामी भर्ना गरिएको छैन । फार्मेसीमा कतिपय अत्यावश्यक औषधि समेत छैन ।

 


दिनेश कुमार श्रेष्ठ