पाँच महिनादेखि खाजा भत्ता नपाएको विद्यार्थीको गुनासो

  ०७६ भदौ १ गते

चङ्खेली गाउँपालिका– ५ नेक्पा गाउँ स्थित डाँफे आधारभूत विद्यालयका विद्यार्थीले दैनिक रूपमा उपभोग गर्दै आएको खाजा भत्ताको रुपियाँ नपाएको विद्यार्थीले गुनासो गरेका छन् ।

जिल्ला सदरमुकाम सिमकोटबाट करिव ५२ कोष टाढा रहेको सो विद्यालयका विद्यार्थीलाई ०७५ चैतबाट नेपाल सरकारले उपलव्ध गराउँदै आएको खाजा स्वरूपको भत्ता नपाएपछि सो विद्यालयका १ सय ६ जना विद्यार्थी प्रत्यक्ष मर्कामा परेको स्थानीय सुसिला तामाङले बताइन् ।

उनले भनिन्–‘विद्यार्थीले दैनिक रूपमा पाउनु पर्ने प्रति व्यक्ति १५ रुपियाँ हो तर पाँच महिना यता विद्यालयले जम्मा तीन रुपियाँका दरले वितरण गर्दै आएको छ ।’

कक्षा एकदेखि आठसम्म पठनपाठन हुँदै आएको सो विद्यालयका विद्यार्थीलाई पहिला १५ रुपियाँ दिएको थियो भने बिचमा १२ रुपियाँ दिँदै आएको हो ।

तर, चैत महिना यता जम्मा तीन रूपियाँ उपलव्ध गराएपछि उक्त विद्यालयका सवै विद्यार्थीहरूलाई खाजा खान समेत नपुग्ने गरेको कक्षा ७ मा अध्यानरत सन्तोष तामाङले गुनासो गरे ।

विद्यालयले पनि गाउँपालिकाद्वारा आएको रकमवाट विद्यार्थीलाई खाजा देखि अन्य भत्ता वितरण गर्ने प्राव्धान रहेको सो विद्यालयका प्रधानध्यापक इन्द्र नारायण चौधरीले बताए ।

उनले भने–‘चङ्खेली गाउँपालिकाभर जम्मा २२ ओटा विद्यालय छन् । सबैमा यस्तै समस्या देखिएको छ ।’ गाउँपालिकाले निकासा भएको छैन भन्दै आलटाल गरेपछि सो भत्ता नपाएको प्रधानाध्यापक चौधरीको भनाई छ ।

गाउँपालिकाका लेखापाल नविन रेग्मीले साउन पछिको समस्या भनेको बजेट फुकुवा र निकासाको ढिलाइका कारण वितरण गर्न नसकिएको हो भने असार अगाडिको पहिला १२ र पछि तीन रूपियाँ गरी जम्मा १५ रुपियाँ पुरा दिइसकिएको बताए । बाँकी भत्ता अब छिटै वितरण गर्ने लेखापाल रेग्मीको भनाई छ ।


नन्द सिंह