पाँच महिनादेखि आमा सुरक्षा भत्ता नपाएको महिलाहरूको गुनासो

  ०७६ साउन ५ गते

जिल्ला अस्पतालबाट पाउनुपर्ने आमा सुरक्षा भत्ता ०७५ फागुनदेखि नपाएको यहाँका सेवाग्राहीको गुनासो आएको छ ।

स्वास्थ्य संस्थामै सुत्केरी गराए बापत सरकारले प्रोत्साहन भत्ता र न्यानो झोला दिने नीति ल्याएता पनि हुम्ला जिल्लामा यो नियम लागु हुन सकेको छैन ।

दुरदराजका गाउँहरूमा रहेका स्वास्थ्यचौकीहरूको त कुरै छोडौँ सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला अस्पतालमा भएका सुत्केरीहरूलेसमेत सुत्केरी भत्ता नपाएको गुनासो गर्दै आएका छन् ।

सिमकोट गाउँपालिका–१ देखि ८ वडा सम्मकै सुत्केरी आमाहरू करिब ६ महिनादेखि यस्तो सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउनेलाई राज्यले सुत्केरी भएकै दिन सुत्केरी भत्ता दिने गरेको छ । तर, हुम्ला जिल्लाको हकमा भने त्यो हुन नसकेको सुत्केरी महिलाको गुनासो छ ।

दुर्गम हिमाली जिल्लामा सडक सञ्जाल नजोडिएको कारण बाटो खर्च बापत ३ हजार रुपियाँ र गर्भको नियमित चेकजाँज गराए बापत थप ८ सय रुपियाँ गरी ३ हजार ८ सय रुपियाँ पाउने भएता पनि सो नपाइएको सिमकोट गाउँपालिका–५ की हिरकला रोकायाले गुनासो गरिन् ।

गाउँबाट सदरमुकाम सिमकोटमा आउनलाई करिब पाँच घण्टा लाग्छ । फागुनदेखि यता पाँच पटक अस्पतालमा पुगे पनि सो भत्ता नपाएरै पर्कनु परेको सोही गाउँपालिका–८ की रेलकला सिंहको गुनासो छ ।

भत्ता नपाउनेमा ०७५ फागुन महिनादेखि यता सुत्केरी हुँदै आएका करिब २ सय ५० जना आमाहरूले रहेका छन् ।

जिल्ला अस्पतालकी अनमी सरिता बोहोराका अनुसार हाल जिल्ला अस्पताल हुम्लामा पुगेर सुत्केरी गराउने २ सय ५० जना आमाहरूले सो भत्ता नपाएकै हुन् यो तर यो समस्या भनेको जिल्ला अस्पताल कार्यालय हुम्लाको नभएर प्रदेश सरकारले बजेट नपठाई दिदा समस्य भएको र सुत्केरी आमा रित्तो हात लिएर घर फर्कनु परेको हो ।

विभागदेखि मन्त्रालयसम्म र कर्णाली प्रदेश सरकारलाई बारम्बार अनुरोध गर्दा पनि केही सुनवाइ नभएको अनमी बोहोराको भनाइ रहेको छ ।

उनले भनिन्–‘सुत्केरी आमा भत्ता लिनको लागि बारम्बार आउने गर्नुहुन्छ । निकासा आएको छैन पछि दिन्छौँ भनेर कतिञ्जेल खाली हात फर्काउनु ?’

कतिपय सुत्केरी आमाहरूले अस्पतालमा आएर राज्यले दिएको सेवा सुविधा खाएको आरोप लगाउने गरेको अनमी बोहोराले बताइन् ।


नन्द सिंह