पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता

  ०७६ माघ १६ गते

वीरेन्द्रनगर बजारमा टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ का केशरबहादुर सिंको घटनास्थलमै मृत्यु भएपछि आन्दोलनमा उत्रेका पीडित परिवार र स्थानीय प्रशासन बीच पाँच बुँदे सहमतिपछि पीडित परिवारले माघ १६ गतेदेखि सुर्खेत बन्द लगायतकोे आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

तीन दिनको प्रयासपछि प्रहरी नियन्त्रणमा रहेका टिप्पर चालक राजकुमार बोहोरा बिरुद्ध कारवाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिई प्रक्रिया अघि बढाउने, सो घटनालाई लिएर भएका सुर्खेत बन्द लगायतका कार्यक्रम फिर्ता लिने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताउनु भयो ।

यस्तै पीडित पक्षलाई कानुन बमोजिम दिइने क्षतिपूर्तिका लागि तत्काल प्रक्रिया अघि बढाउने, पीडित पक्षलाई थप राहत र आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय भएको सहायक प्रजिअ खडकाले जानकारी दिनुभयो ।

पीडित पक्ष र स्थानीय प्रशासनबीच सहमति भएपछि पीडित पक्षले माघ १६ गते शव बुझी पोष्टमार्टम गरी दाहसंस्कार गर्ने तयारी गरेका स्थानीय प्रशासनले जनाएको छ ।

पीडित परिवारले माघ १६ गतेदेखि सुर्खेत बन्द लगायतका आन्दोलनका कार्यक्रम अघि सारी दिउँसोसम्म नाराजुलुश सहित नगर परिक्रमण गरेका थिए ।

वीरेन्द्रनगर नपा–३ गौतम चोकमा माघ १४ गते भएको टिप्परको ठक्करबाट केशरबहादुरको घटनास्थलमा मृत्यु भएको थियो ।

 


दुर्गा थापा