पाँच दिनदेखि हराइरहेकी नवजात शिशुको शव फेला, आमाले हत्या गरेको आरोप

  ०७५ भदौ १२ गते

भदौ ८ गतेदेखि हराइरहेकी सिरानचोक गाउँपालिका–२ थालाजुङकी ११ दिने नवजात शिशुको शव भदौ १२ गते सोही ठाउँस्थित मृतकको घर छेउमै गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

छोरीको हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीया ‘बालिका आमा’लाई प्रहरीले भदौ ९ गतेदेखि नै नियन्त्रणमा लिएको थियो । ११ दिने छोरीको हत्या गरी घर भन्दा ३ सय मिटर पर बारीमा गाडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

‘अनुसन्धानको लागि नियन्त्रणमा लिएका थियौँ ।’–जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी बिमल बस्नेतले भने–‘आज १२ गते आमाले हत्या गरेको स्वीकार गरिन् ।’ मृतकको शव पोष्टमाटमा लागि गोरखा अस्पतालमा ल्याइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको र अन्य व्यक्ति पनि घटनामा संलग्न भए नभएको बुझ्ने क्रममा रहेको प्रहरीले जनाएको छ । आरोपितले एक वर्षअघि गाउँमै अन्तरजातीय विवाह गरेकी थिइन् ।


हरिराम उप्रेती