पाँच ओटा स्थानीय तह सचिवविहीन, ८४ वडा रहेको बैतडीमा ७२ वडामा सचिव छैनन्

  ०७६ कात्तिक १८ गते

जिल्लाका ८४ ओटा वडा कार्यालयमध्ये ७२ ओटा वडा कार्यालयमा सचिव नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् ।

शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका कुनै पनि  वडा कार्यालयमा सचिव छैनन् ।

सुर्नया गाउँपालिकाका आठ वडामध्ये एक वडामा पनि सचिव नरहेको गाउँपालिका अध्यक्ष बिरबहादुर विष्टले बताए ।

वडामा सचिव नहुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताउँदै आएका छन् ।

पाटन नगरपालिकाका १० ओटा वडा कार्यालयमध्ये सात ओटा वडा कार्यालय सचिवविहीन रहेको प्रमुख प्रशासकीय अधिकृत कमलसिंह महराले बताए ।

उनले भने–‘धेरै पटक सचिवको माग गर्दा पनि पदपुर्ति हुन सकेको छैन । काम गर्न निकै समस्या भएको छ ।’

डिलाशैनी गाउँपालिकाका सात ओटा वडा कार्यालयमध्ये एउटा वडामा मात्रै सचिव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले बताए ।

उनले भने–‘वडा सचिव नहुँदा कार्यसम्पादनमा निकै समस्या भएको छ । स्थानीयलाई वडा कार्यालयबाट दिनु पर्ने सेवा सुविधा समयमै दिन सकिएको छैन ।’

दोगडाकेदार गाउँपालिकामा आठ ओटा वडा कार्यालयमध्ये दुई ओटा वडा कार्यालयमा मात्रै सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए ।

पुरचौडी नगरपालिकाका १० ओटा वडा कार्यालयमध्ये एउटा वडा कार्यालयमा मात्रै सचिव रहेको र अन्य वडामा प्राविधिक सहायकले काम सञ्चालन गरिरहेको नगरपालिकाकी उपप्रमुख जानकी बमले बताइन् ।

दशरथचन्द नगरपालिकामा पनि ११ वडामध्ये चार ओटा वडा कार्यालयमा मात्रै सचिव रहेका नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए ।

वडा कार्यालयमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्रसम्म धाउनु परिरहेको स्थानीयले गुनासो गरेका छन् ।

वडा सचिव नहुँदा सामान्य कामका लागि पनि गाउँपालिका केन्द्र तथा अर्को वडामा गएर काम गर्नु पर्ने बाध्यता रहेको शिवनाथ गाउँपालिका–१ का स्थानीय करन चाँडले गुनासो गरे ।

वाडा कार्यालयमा कर्मचारी आउँछन भनेर आश्वासन पाएको दुई वर्र्ष बितिसक्दा पनि आफूहरूले सचिव नभएका कारण वडा कार्यालयबाट पाउने सेवा सुविधा पाउन नसकेको पञ्चेश्वर गाउँपालिका–२ का स्थानीय मोहन चन्दले गुनसो गरे ।

कर्मचारी समायोजनापश्चात स्थानीय तहमा कार्यरत कर्मचारी अन्यत्र गएपछि स्थानीय झन् समस्यामा पर्दै आएका छन् ।


नरी बडु