पाँचदिनदेखि अस्पतालको सेवा बन्द हुँदा बिरामी मर्कामा, उपचार अभावले एकको ज्यान गयो

  ०७५ साउन २४ गते

उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरूको आन्दोलनका कारण चौरजहारी अस्पतालको सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

साउन १३ गते भेरी नगरपालिका–१३, कुदु जाजरकोटकी २९ वर्षीया यशोदा मल्ल रोकायको मृत्यु भएपछि सोही दिनदेखि पीडित पक्षको आन्दोलनले गर्दा अस्पतालमा उपचार सेवा बन्द रहेको छ ।

डक्टरको लापरवाहीका कारण यशोदाको मृत्यु भएको भन्दै त्यसको उचित क्षतिपूर्ति पाउनुपर्ने र घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै उनीहरू आन्दोलित छन् ।

अस्पताल प्रशासन मृगौलामा सङ्क्रमण भएको र उपचार गर्दागर्दै उनको मृत्यु भएको भन्दै त्यसमाथि छानबिन गर्न सहमत भएको छ । क्षतिपूर्तिको सन्दर्भमा भने अस्पताल सहमत नहुँदा उनीहरूले यशोदाको शवसमेत बुझेका छैनन् ।

आन्दोलनको क्रममा मृतकका आफन्तहरूले ढुंगामुढा गर्दा अस्पतालको इमरजेन्सी कक्ष, दर्ता कक्ष, विरामी वार्ड लगायत झ्यालका सीसामा समेत क्षति पुगेको छ ।

अस्पतालको संरचनामा क्षति पुगेको र वातावरण पनि अनुकूल नभएकाले सेवा बन्द गर्नुपर्दा दैनिक करिब २ सय बिरामीहरू उपचारबाट वञ्चित भएको अस्पतालका डाक्टर कालेब बुढाले बताए । अस्पताल आउँदा उपचार नपाएपछि जटिल समस्याका बिरामीलाई नेपालगञ्ज पठाउने गरिएको उनले जानकारी दिए ।

यसैबिच अस्पताल बन्द हुँदा उपचारबाट वञ्चित भएर चौरजहारीमा एक बिरामीको ज्यान गएको छ । जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर बिकको उपचार हुन नपाएर ज्यान  गएको हो । दमको समस्या भएर चौरजहारी अस्पतालमा उपचार गराउन आएका बिकको उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु परेको हो ।


मनिषा केसी